२०८१ बैशाख १४ , शुक्रवार

नेपालमा सिप, ज्ञान र प्रविधि लगानीमा जोड

सुनाखरी न्युज/ काठमाडौं । गैरआवासीय नेपाली संघको जारी १५ औं युरोपेली सम्मेलनमा सहभागी वैज्ञानिक, विज्ञ र प्राज्ञिक प्रतिनिधिहरुले नेपालमा आर्थिक लगानीका अतिरिक्त सिप, ज्ञान र प्रविधिको लगानीमा जोड दिएका छन् ।

 

चेक रिपब्लिकको राजधानी प्रागमा गत आइतवार आयोजित सम्मेलनमा बोल्दै विज्ञ राकेशचन्द्र प्रजापतिले नेपालको विश्वबजारमा हालसम्म सेटलाइट क्षेत्रमा रहेको पहुँचको बारेमा आफ्ना भनाइ राखेका थिए । उनले नेपालमा स्पेश टेक्नोलोजी सम्बन्धी अध्ययन र अध्यापन गर्न जनशक्ति कम रहेको बताए । उनले सन् २०२४ मा नेपालले सेटलाइट बनाउने तयारी गरेको बताए ।गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा भौतिकशास्त्री डा. हेमराज शर्माले विदेशमा सिकेको ज्ञान र सिप नेपालमा लैजानको लागि आवश्यक वातावरण बन्नु पर्नेमा जोड दिए । उनले नेपालमा अहिलेको अवस्थामा आर्थिक लगानीका अतिरिक्त प्रविधि भित्राउन अभियानमा लाग्नु पर्ने बिचार व्यक्त गरे ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सिप तथा ज्ञान ट्रान्फरको लागि पुस्ताको प्राथामिकतामा निर्भर हुने बताए । उनले नेपालको विकासको लागि आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन सके मात्र राष्ट्र समृद्धीको बाटोमा लाग्ने बताए । उनले विदेशमा बस्ने नेपालीहरुलाई आफूले सिकेको ज्ञान र सिप नेपालको नीति निमार्णमा सदुपयोग गर्न आग्रह गरे । उनले नेपालमा अहिले सुशासन आवश्यक रहेको बताए । कार्यक्रममा डा. बोधराज सुवेदी, डा. कृष्ण सापकोटा, डा. असिम अधिकारी, हरिकृष्ण न्यौपाने, भोजराज शर्मा, आरके त्रिपाठीलगायतका वक्ताहरुले नेपालमा सिप र ज्ञान ट्रान्फरमा जोड दिए ।

एनआरएनए यूरोपेली सम्मेलनः ६ लाख प्रवासी नेपाली लगानीकर्ता धितोपत्र बजारमा जोडिने

 

गैरआवासीय नेपाली संघको जारी १५ औं युरोपेली सम्मेलनमा सहभागी लगानीकर्ताहरुले नेपालको समृद्धिको लागि नेपालमा लगानीमा जोड दिएका छन् । कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीले नेपालमा लगानी गर्दा समस्या रहेको बताउँदै विदेशी लगानीमा न्युनत २ करोडको सिलिङ्ग तोकिनु व्यवहारिक नभएको बताए ।

 

उनले संघले अघि सारेको १० अर्ब लगानीको परियोजनामा सा–साना लगानीकर्ताहरु जोड्ने उद्देश्यले सामूहिक लगानीको परियोजना अघि सारिएको बताए । उनले निकट भविष्यमा सो फण्डमा न्यूनतम २ सय ५० डलर लगानी गर्नसक्ने नेपालीलाई जानकारी दिने उद्देश्यले रोड शोको आयोजना गरिने जानकारी दिए । डा. केसीले गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्न केही ऐन तथा कानूनहरुमा अझै पनि संशोधनको आवश्यक रहेको बताए ।

 

समृद्धिका लागि गैरआवासीय नेपालीहरुको संयुक्त लगानी विषयको अन्तरक्रिया कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुमार पन्तले कार्यक्रममा बोल्दै नेपालमा आर्थिक लगानीका अतिरिक्त ज्ञान र सिपसमेत भित्र्याउन जोड दिए । पन्तले गैरआवासीय नेपालीहरुको दर्दिखोला जलविधुत आयोजनामा भएको सामूहिक लगानी सफल भएको चर्चा गरे ।

 

उनले विदेशमा रहेका नेपालीहरुको ससानो पुँजीलाई देशको समृद्धिका जोड्नको लागि नेपालमा १० अर्बको लगानी परियोजना अगाडि सारिएको बताए । पन्तले १० अर्ब लगानीमा भएको साना लगानीबाट पनि ठूलो मुनाफा हुने जिकिर गरे । पन्तले विदेशमा बस्ने ६ लाख नेपालीलाई लक्ष गरी आइपीओ जारी गर्न लागिएको जानकारी दिए । उनले गैरआवासीय नेपालीहरुको सयुक्त लगानीमा स्थापना गरिएको एन.आर.एन नेपाल डेप्लोमेन्ट फण्डमा ढुक्क भएर लगानी भित्र्याउन आग्रह गरे ।

 

एन.आर.एन नेपाल डेप्लोमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनल राज भट्टराईले नेपाल सरकारले गैरआवासीय नेपालीको लगानीलाई स्वीकृत गर्ने, लेखांकन गर्ने र न्यूनतम सिमा सहजिकरण गरेको बताए । उनले गैरआवासीय नेपालीहरुले १० अर्बको फण्डमा लगानी गर्न चाहना राखेमा २ सय ५० डलरबाट सुरु गर्न सक्ने बताए । भट्टराईले १० अर्ब फण्डको लागि सर्वसाधारणको लगानीको लागि धितोपत्र बजारमा ६ महिनाभित्र जाने गरी काम थालिएको बताए ।

 

अष्ट्रियाका लागि नेपाली राजदूत भरतराज रेग्मीले गैरआवासीय नेपाली संघले भूकम्प, कोभिड जस्ता प्राकृतिक प्रकोपको बेला देशको लागि ठूलो सहयोग गरेको चर्चा गरे । उनले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताए । उनले गैरआवासीय नेपालीहरुको आर्थिक डिप्लोमेसी, पर्यटन प्रर्वधन लगायतका क्षेत्रमा ठूलो सहयोगको अपेक्षा नेपाल सरकारको रहेको बताए । कार्यक्रममा महिला व्यवसायी अनुजा प्रधानले गैरआवासीय नेपाली महिलालाई व्यवसायी बनाउने नीति ल्याउन जोड दिइन् । उनले आफ्नो बैंक खातामा भएको पैसा लगानी गर्न आग्रह गर्दै समृद्ध हुनको लागि एक मात्र विकल्प लगानी भएको बताइन् ।

 

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष आरके शर्माले खाडी क्षेत्रमा नेपालीहरुले बगाएको पसिनालाई सदुपयोग गर्ने तर्फ नेपाल सरकारको ध्यानकर्षण गराए । उनले श्रमिकहरुलाई मात्र सामूहिक लगानीमा जोड्न सके मात्र ८० अर्बसम्मको लगानी भित्र्याउन सकिने बताए। उनले १० अर्बको लगानी समृद्ध नेपालको लागि पहिलो खुडकिलो भएको बताए । संघका प्रवक्ता शिवकुमार बरुवाले संचालन गरेको कार्यक्रममा संघका उपाध्यक्षहरु महेशकुमार श्रेष्ठ, आरके शर्मा, राज रेग्मी, अनुजा प्रधान लगायतले आआफ्ना भनाइ राखेका थिए ।