२०८१ बैशाख १४ , शुक्रवार

ग्यास लिक भई आगलागी हुँदा चारवटा सिलिण्डर बिष्फोट

सुनाखरी न्युज/ काठमाडौं । सिराहाको गोलबजार नगरपालिका ४ गोलबजारमा चिया खाजा पसलमा ग्यास लिक भई आगलागी हुँदा चारवटा सिलिण्डर बिष्फोट भएका छन् । सिलिण्डरबाट सल्किएको आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक विश्वबाबु बुढाथोकीका अनुसार मंगलबार बिहान करिब ३ बजेतिर गोलबजार ६ का जोगी साह हलुवाईले ग्यास बाल्ने क्रममा लिक हुँदा आगलागी भएको हो । ग्यास लिक भएर आगलागी हुँदा भरेर राखिएका चार वटा सिलिण्डर बिष्फोट भएका हुन् । बिष्फोटबाट मानवीय क्षति नभएपनि खाजा तथा किराना पसलका सबै सामान जलेर नष्ट भएका छन् ।

 

आगलागीबाट पसलको दुई टहरा, खाजा पसल छेउमै उत्तिमलाल महतोको किराना पसल समेत जलेर ध्वस्त भएको छ । आगलागीबाट पसलमा खाजा बनाउन राखिएका सामग्री, लत्ताकपडा, भाँडावर्तन, नगदसहित करिब १२ लाख तथा किराना पसलको करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । गोलबजार नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दा समेतको सहयोगमा दुई घण्टापछि बिहान करिब ५ बजेतिर आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।