२०८१ बैशाख २३ , आइतवार

राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशिका, अब बैंकले महिनैपिच्छे ब्याजदर परिवर्तन गर्ने

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाहरुले अब  महिनैपिच्छे कर्जाको ब्याजदर परिवर्तन गर्ने भएका छन् । प्रवाह भएको ऋण (कर्जा) मा ब्याजदर हरेक महिना परिवर्तन गर्नुपर्ने गरी नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको छ ।

पछिल्लो तीन महिनाको आधार दरअनुसार मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । ‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । यसअघि त्रैमासिक रुपमा मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

 

यसको अर्थ अब बैंकहरुले जेठ महिनामा पनि कर्जाको ब्याजदर परिवर्तन गर्नेछन् । राष्ट्र बैंकको निर्देशनअनुसार फागुन, चैत र वैशाख महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार जेठमा कर्जाको ब्याजदर पनि परिवर्तन गर्नुपर्नेछ । यसअघि भने तीन तीन महिनामा मात्रै कर्जाको ब्याजदर परिवर्तन हुने व्यवस्था अनुसार साउनमा मात्रै परिवर्तन हुने थियो । बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर घट्दै गएकाले आधार दर पनि घट्दो क्रममा छ, यसले ऋणीलाई ब्याजदर महिनैपिच्छे घट्न गई राहत पुग्छ ।

 

पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन पाइने व्यवस्था पनि गरिएको छ ।