२०८० चैत्र १६ , शुक्रवार

१२ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं । सरकारले १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विभिन्न अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत १२ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्न लागेको हो ।

 

नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सोमबार ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । जसमध्ये १८ अर्ब १८ करोड नवीकरणका लागि बोलकबोल हुनेछ भने १२ अर्ब रुपैयाँ नयाँ ऋण परिचालन गर्न बोलकबोल हुन लागेको हो । २८ दिन अवधिको ३ अर्ब,९१ दिन अवधिको ७ अर्ब १० करोड, १८२ दिन अवधिको ६ अर्ब र ३६४ दिन अवधिको २ अर्ब ८ करोड बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

 

यस्तै ९१ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल मार्फत ५ अर्ब, १८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ३ अर्ब र ३६४ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ४ अर्ब गरी १२ अर्ब आन्तरिक ऋण परिचालन गर्न लागिएको हो ।ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।