२०८१ बैशाख १३ , बिहिवार

विपश्यनामा आमिर खानले ४ बजे उठेर गरे ध्यान

सुनाखरी न्युज /काठमाडौँ – आमिर खान आइतबार अचानक नेपालको एयरपोर्टमा देखिए । विना हल्ला खल्ला एयरपोर्टमा देखिएपछि उनी के का लागि आएछन् भन्ने कौतुहलता थियो । तर, एयरपोर्टबाट सिधैं बुढानिलकण्ठको बाटो समातेपछि उनी यही इलाकामा रहेको नेपाल विपश्यना सेन्टरमा विपश्यनाका लागि आएको खबर पनि फैलियो ।

 

उनी आइतबार दिउँसोबाट सुरु हुने १० दिने विपश्यना कोर्सका लागि नेपाल आएको नेपाल विपश्यना सेन्टरका रुप ज्योतिले पुष्टि गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका ज्योति नै आमिर खानको १० दिने विपश्यना कोर्सका प्रमुख आचार्य हुन् ।बलिउड अभिनेता आमिर खान बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान साधना गरिरहेका छन । आमिर आइतबार बेलुका ७ बजे ध्यान केन्द्र पुगे । केही समय आराम गरेर खाना खाए र सुते । आमिर सामान्य व्यक्तिकै रुपमा ध्यान केन्द्रमा आइपुगेको र आफूहरुले हाइप्रोफाइल ट्रिटेमन्टभन्दा नर्मल व्यक्तिकै जस्तो व्यवहार गरेको ध्यान केन्द्रका एक कर्मचारीले बताए ।

 

खानपिनदेखि अन्य काममा पनि आमिरलाई सघाउनेछन् । विपश्यना ध्यान १० दिनसम्म चल्ने र सो अवधिसम्म नियमहरु कडाइका साथ पालना गर्नुपर्ने हुन्छ। ‘विपश्यनाको नियम पनि १० दिन चल्ने हो । आमिरले त्यो सक्नुहुन्छ या सक्नुहुन्न, त्यो उहाँमा निर्भर हुन्छ,’ ती कर्मचारीले भने । उनका अनुसार विपश्यनामा मौन रहनुपर्ने, सांकेतिक भाषामा समेत कुरा गर्न नपाइने, मोबाइल फोन लैजान नपाइने नियम छ । आमिरले पनि यी नियमलाई पालना गर्नुपर्ने हुन्छ । ‘यो नियम सबैका लागि हो । आमिरलाई पनि नर्मल व्यक्तिकै रुपमा व्यवहार गरेका छौं,’ केन्द्रका कर्मचारीले भने । बिहान ४ बजे उठेर बेलुका ९ बजे सुत्नुपर्ने नियम केन्द्रमा रहेको र आमिरले पनि त्यसलाई पछ्याउनुपर्ने जनाइएको छ ।