२०८१ बैशाख ७ , शुक्रवार

श्री एअरलाइन्सको जहाज उडाउन रोक

सुनाखरी न्युज/ काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ । दुई दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ ।

 

जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने प्राधिकरणको भनाइ छ । यो जहाजको ल्यान्डिङ गियरमा अस्ति शनिवार समस्या आएकोमा आज सोमवार फेरि त्यही समस्या दोहोरिएको थियो । प्राधिकरणले जहाजको मर्मतमा संलग्न इन्जिनियरलाई पनि सोधपुछका लागि ड्युटीबाट हटाएको छ ।

 

आज बिहान भैरहवाबाट उडेको श्री एअरको जहाज बीच बाटोबाटै फर्किएर भैरहवामै अवतरण भएको थियो । जहाज अवतरण भए पनि पाङ्ग्रा लक हुँदा आधा घण्टासम्म धावनमार्गमै रोकिएको थियो । श्री एअरलाइन्सको जहाजका कारण अरू जहाजका उडान र अवतरण पनि प्रभावित भएका थिए ।