२०८१ बैशाख १४ , शुक्रवार

छहरे–टोखा सुरुङमार्गलाई वजेटमा समावेश गर्ने अर्थमन्त्रि डा. महतको प्रतिबद्धता

सुनाखरी न्युज/ काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले छहरे–टोखा सुरुङमार्गलाई यसपटकको वजेटमा समावेश गरिने बताउनु भएको छ । उहाँले धेरै समयदेखि चर्चामात्रै हुँदै आएको छहरे–टोखा सुरुङमार्गको निर्माणका लागि यस वर्षको वजेटमा समावेश गरिने प्रतिवद्धता जनाउनु भएको हो ।

 

नुवाकोटको दुप्चेश्वरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रि डा. महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ । डा. महतले सुरुङमार्ग निर्माणका लागि धेरै पहिलेदेखि बहस भए पनि अब भने काम सुरु गर्न यस वर्ष आवश्यक बजेटको विनियोजन गर्नेसमेत जानकारी दिनुभयो । ’नुवाकोटसहित रसुवा हुँदै चीनसँगको केरुङ बजारसँगको व्यापार बढाउन टोखा–छहरे सुरुङ मार्गको विकल्प नरहेकाले यसलाई अब कार्यान्वयनमा लैजान लागिएको हो ।’ उहाँले अगाडि भन्नुभयो, ‘वजेट व्यवस्था गरेर निर्माणतर्फको काम सुरु गरिन्छ ।’

 

आयात-निर्यात तथा पर्यटनबाटै नेपालको अर्थतन्त्रको सुधार हुनेसमेत मन्त्रि डा. महतको भनाई छ । नेपालको कृषि र पर्यटनको विकास, उद्योग व्यवसायको वृद्धि, धार्मिक तथा सांस्कृतिक गतिविधिलाई चलायमान बनाएर केरुङ हुँदै चीनसँगको व्यापार बढाउन के–कति सकिन्छ आगामी आर्थिक वर्षमा बजेट तर्जुमा गर्न लागिएको उहाँले बताउनुभयो । संघीय सरकार आगामी आर्थिक वर्षको तयारीमा रहेकाले उत्पादक र ठूला योजनाका क्षेत्रमा बजेटले प्राथमिकता पाउने नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्रि डा. महतको भनाई छ । अर्थमन्त्रि डा. महतले अगाडि भन्नुभयो, ’अहिले अर्थतन्त्र अप्ठ्यारो परिस्थितिको भएकाले धेरै अपेक्षा नराख्न तर, राम्रा र नमूना कामको थालनी हुन्छ भन्नेमा ढुक्क हुनुहोस् ।’

 

काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्गको दुरी झण्डै चार किलोमिटर दुरीको रहने जनाइएको छ । अर्थमन्त्रि डा. महतले नेपालमा कृषि र पर्यटनको विकास, उद्योग व्यवसायको वृद्धि, धार्मिक तथा सांस्कृतिक गतिविधिलाई चलायमान बनाएर केरुङ हुँदै चीनसँगको व्यापार बढाउन छहरे–टोखा सुरुङमार्ग महत्वपुर्ण रहने भएको हुँदा यसले नुवाकोट र रसुवावासीको मात्रै नभई देशकै विकास हुनेसमेत बताउनुभयो ।