२०८० चैत्र १५ , बिहिवार

सिधाकुरा जनतासँगको १०००औँ अंक पूरा

सुनाखरी न्युज/ काठमाडौं । कार्यक्रम सिधा कुरा जनतासँगले पार गरेको यो महायात्रा सिधा र सरल रेखाबाट गुज्रिएन । देखिएका, भेटिएका विकृति र विसंगतिका मामिला उजागर भएपछि एउटा वर्ग र तह तरंगित हुन्छ । आफ्ना कमजोरी सुधार गर्ने भन्दा अरुमाथि दोषारोपण गरेर आफू उम्किने प्रयत्नमा हर कोही लागि पर्छन् – हामीले अहिलेसम्म प्राप्त गरेको अनुभवले यहि भन्छ ।

२०७३ सालबाट सुरु भएको कार्यक्रम सिधा कुरा जनतासँको यो यात्राका केही सहयात्री फेरिनु भएको छ । कोही जोडिनु भएको छ । तर कार्यक्रमको मूल उद्देश्यबाट हामी कहिले पनि विचलित भएका छैनौं । न्युज ट्वान्टी फोर टेलिभिजनले सुरु गरेको यस कार्यक्रमको प्रारम्भिक अगुवा वा प्रस्तोता तथा कार्यकारी निर्माता रवि लामिछाने हुनुहुन्थ्यो । सिधा कुराले आफ्नो स्वभाविक उचारचढावहरु पार गर्दै यहाँसम्म आइपुग्दा यो यात्रामा पुराना साथीहरु दीपक बोहोरा, युवराज कँडेल, विष्णु ढुंगाना, सम्झना भुजेललगायत साथीहरुले पु¥याउनु भएको योगदानलाई पनि विर्सन सक्दैनौं ।

यस कार्यक्रम मार्फत धेरै जनताको सेवा गर्न पाएका छौं, त्यो सेवा र जनताले दिनु भएको धन्यवाद आजसम्मका लागि हाम्रो पुरस्कार बनेको छ । कार्यक्रमको सुरुवातदेखि हालसम्मको यात्राको एक झलक अबको प्रस्तुतीमा । लाखौं दर्शकको माया, सद्भाव र विश्वास जित्न सफल भएको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ले १ हजार श्रृङ्खला पूरा गरेको छ । २०७३ साल मंसिर २८ गतेबाट सुरु भएको यस कार्यक्रमले छ वर्षमा केही स्वभाविक उतारचढावहरु पार गर्दै अहिलेको अवस्थासम्म आइपुगेको हो ।

कार्यक्रमका प्रथम प्रस्तोता एवं निर्माता रवि लामिछानले ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ सञ्चालन गर्दै गर्दा सोही कार्यक्रमका संशोधित ढाँचामा ‘सिधा कुरा जनतासँग’को सुरुवात भएको थियो । सुरुवातदेखि नै यस कार्यक्रमले जनताका आवाजलाई प्राथमिकता दिएर प्रशारण गर्दै आएको छ । जनताका अनेकन समस्या, तिनको समाधानका लागि पैरवी गरिदिने यस यात्रामा अहिले यस कार्यक्रम जनताको समस्या राख्ने साझा चौतारी बनेको छ । वैदेशिक रोजगारीका क्रममा ठगिएका, अलपत्र परेका, कुटपिटमा परेका, बन्धकमा परेका धेरै नेपाली कामदारहरुको एउटा भरोसयोग्य केन्द्रका रुपमा सिधा कुराले विश्वास आर्जन गरेको छ ।

स्वदेशमा पनि विश्वास गरेकाहरुबाटै ठगिएका, राज्यका निकायमा धाउँदा धाउँदा पनि कुनै सुनवाई नभएपछि अन्तिम आशा लिएर आउने तमाम नागरिकका समस्या उजागर गर्नुलाई यस कार्यक्रमले आफ्नो दायित्व मान्दै आएको छ । समस्या नागरिकका मात्रै छैनन्, समस्या राज्य सञ्चालन गर्नेहरुमा, नीति निर्माताहरुमा, राजनीति कर्मीहरुमा पनि छन् । हरेक क्षेत्रमा देखिएका, भेटिएका, थाहा पाइएका विकृतिहरुविरुद्ध हाम्रो प्रहार, सुशासनका लागि सदैव खबरदारी यो कार्यक्रमले गर्दै आएको छ ।

आर्थिक रुपले जर्जर, सामाजिक रुपले पनि पछि परेको हाम्रो मुलुकका अधिकांश अंगहरु कैफियतग्रस्त छन् भन्ने अनेकन प्रमाण र तथ्यहरुले पुष्टि गरेका छन् । कुनै पनि विषयको खोज, अनुसन्धान, स्टिङ अपरेसन आदिका माध्यमबाट विषयहरु उजागर गर्ने सिधा कुराको प्रयत्न निरन्तर छ । न्यायालयमा समेत न्याय मरेको एक सनसनीपूर्ण अडियो सम्वाद सिधाकुरामार्फत ब्रेक भयो । जहाँ जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोख्रेल व्यवसायी इच्छाराज तामाङलाई आर्थिक लेनदेन गरी रिहा गराउने सल्लाह गर्दै थिए ।

सरकारको आवाज जनतासम्म पु¥याउन तमाम सञ्चारमाध्यमहरु छन् । राजनीतिक दलहरुको कुरा जनतामा पु¥याउने पनि सञ्चार माध्यमहरु सक्षम छन् । तर जनताको कुरा सरकारसम्म पु¥याउने काममा अझै पनि कमिकमजोरी भइरहेको छ । सिधा कुरा जनतासँगले उठाएका कतिपय इस्युका कारण कतिपयले न्याय पाएका छन् । धेरैको उद्दार भएको छ । केही पीडकहरु आफैं पनि सिधा कुराले पत्रकारिताको गलत अभ्यास गर्यो भन्दै दूष्प्रचारमा पनि लागि परेका छन् ।
८४० औं शृङखला बीरबहादुर धौली उद्दारमा प्राप्त भएको सफलताका कारण सन्तोषजनक रह्यो । ६६ वर्षीया आमा धौली कार्कीसँग बीरबहादुरले मातातीर्थ औंशीमै भेट गर्ने अवसर प्राप्त गरेका थिए ।

दुवै मिर्गौला फेल भएकी धौली साउदीमा बन्धक भएका छोराको उद्दारको याचना गर्दै हाम्रो कार्यालयसम्म आएकी थिइन् । हाम्रो प्रयासपछि वीरबहादुर सात वर्षपछि नेपाल आए । आमा र छोराको त्यो मिलनले हामीलाई थप सत्कर्म गर्ने प्रेरणा समेत मिल्यो । गत असार २३ गते कस्तुरीको बिना कारोबारमा संलग्न भएको अरोपमा पाँचथरका शिव लिम्बुलाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौंको चाबहिलबाट कस्तुरीको बिना लुकाई राखेको आरोपमा प्रहरीले लिम्बुलाई पक्राउ गरेको थियो । तर, लिम्बु निर्दोष देखिने सीसीटिभी फुटेज सहित कार्यक्रम प्रशारण भएपछि प्रहरी आफैं ‘मिस गाइड’ भएको प्रमाणित भएको थियो ।

कार्यक्रम प्रशारण भएकै भोलिपल्ट काठमाडौं उपत्यका प्रहरी कार्यालयले घटनाका सम्बन्धमा छानविन समिति गठन ग-यो । छानविन समितिको निष्कर्षपछि जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंको साउन २ गते लिम्बु निर्दोष रहेको ठहर गर्दै मुद्दा नचलाउने निर्णय गरेको थियो । प्रहरीले पाँचथरकै आदम भन्ने सुवाष राईको योजनामा नारायण कार्की भन्ने कृष्ण श्रेष्ठले कस्तुरीको विना जस्तो देखिने वस्तु शिवको मोटरसाइकलमा राखेका थिए । दार्चुला सशस्त्र प्रहरीको ४४ नम्बर गणको अनियमितता बाहिर ल्याउदा जेल पुगेका थिए, वरिष्ठ प्रहरी हवल्दार नरेश सिंह साहु ।

रासन भत्ता लगायतका विषयमा हुने अनियमितता साहुले बाहिर ल्याउने प्रयास गरेका थिए । रिसले चुर भएका एसपी त्रिभुवन विष्टको ष्डयन्त्रमा साहु कारागार चलान भएका थिए । गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनीमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनाधिकृत व्यक्तिलाई उपलब्ध गराइएको झुठो अभियोग लगाइएको थियो । निर्दोषलाई फसाईएको भन्दै उनको समर्थनमा माइतीघरमा आन्दोलन समेत भएको थियो । यो बीचमा हामीले निरन्तर उनको न्यायका लागि आवाज उठायौँ ।

सशस्त्र प्रहरीको विषेश अदालतको संयुक्त इजलाशले तीन महिनापछि साहुलाई निदोर्ष सावित ग¥यो । झूठो अभियोगमा झण्डै ३ महिना कारागार बसेका साहु सिधाकुराका कारण छुटे । झापाका खेमराज तिम्सिनाले अस्पतालको बेडबाट रुँदै उद्दारको याचना गरेका थिए । आफ्ना ठेकेदारले खुट्टामा गाडी चढाइ दिएको तिम्सिनाले दावी गरेका थिए । ४५ दिन अस्पतालको शैयामा छटपटाएका खेमराजले उद्धार गरिदिन गुहार मागेपछि हामीले उनको विषय प्राथमिकतामा राखेर उद्दारको पहल ग¥यौं । वैशाखीकै भरमा भए पनि दुई हप्तापछि खेमराज नेपाल आइपुगे । ६ हजार डलरमा बेचिएकी मोरङ उर्लाबारीकी मिना धिमाल, दुबईमा अलपत्र दोलखाका मेखमान तामाङ लगायत धेरै नेपाली युवालाई उद्दार गर्न कार्यक्रम सफल रह्यो । news24