२०८१ बैशाख ६ , बिहिवार

‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’बाट वरिष्ठ गायक दीप श्रेष्ठ र संगीतकार शक्ति बल्लभ सम्मानित

सुनाखरी न्युज/ काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही वैशाख २३ गते “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७९” प्रदान गरिएको छ।

उक्तसम्मान गायनतर्फ वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ र संगीततर्फ वरिष्ठ संगीतकार शक्ति बल्लभलाई जनही नगद पुरस्कार ५० हजार १ रुपैयाँसहित प्रदान गरिएको छ। कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक बीपी सिंहलाई प्रदान गरिएको छ। २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा क्रियाशील स्वास्थ्योपचार गराइरहेका संगीतकर्र्मीलाई अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको हो।

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष सुशीला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए। भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केही वर्षयतादेखि संगीत र कलाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ।