२०८१ बैशाख ११ , मंगलबार

काठमाडौंका अव्यवस्थित तार भोलिदेखि हटाइँदै

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार सोमबारदेखि हटाउन नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु राजी भएका छन् ।

 

नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु र महानगरपालिका बीच आइतबार भएको छलफलमा सोमबारदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु तयार भएको महानगरले जनाएको छ । महानगरका प्रहरी उपरीक्षक मनोज लामिछानेका अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तारहरु हटाइने छ । महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिंदै २७ वैशाखभित्र अव्यवस्थित तार हटाउन भनेको थियो ।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौं महानगरपालिकासहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो । त्यसपछि महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको हो । २७ वैशाखसम्म सरोकार निकायले तार नहटाए महानगरपालिका आफैंले हटाउने तयारी गरिरहेको लामिछानेले बताए । उनले भने, ‘तर छलफलमा भोलिदेखी नै तार हटाउने विषयमा सहमति भएको छ । विश्वास छ भोलिदेखि नै तार हटाउन सुरु हुन्छ ।’