२०८१ बैशाख ७ , शुक्रवार

महेन्द्र मा वि घार्मीमा अक्षयकोष अभियान चलाईने

शिशिर उजाड/ पोखरा । पोखरा महानगरपालिका वडा नं १९ घार्मीमा रहेको महेन्द्र माविमा अक्षयकोष अभियान चलाईने भएकाे छ।

 

विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्षसँग समन्वय गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न अभियान नै सञ्चालन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलले जानकारी दिनुभयो। अक्षयकोष स्थापना गर्न स्थानीय अभिभावक, भुपु विद्यार्थी तथा शिक्षासेवी सबै पक्षसँग कुराकानी भएको र सवैले चाहाना व्यक्त गरेकाे समेत पौडेलले बताउनुभयो। एमाजी कल्चरल फाउन्डेसन जापानको सहयोग र शिक्षासेवी तोयानाथ पौडेलको सकृयतामा २०४७ सालमा स्थापना भएको साविक लामाचौर गा वि सको एउटा मात्रै माध्यमिक विद्यालय महेन्द्र माविले यही वैशाख २६ गते स्थापनाको ३३ औं वार्षिकोत्सब मनाउदै छ।

 

कार्यक्रमलाई व्यवस्थित बनाउन तयारी तीव्र बनाइएको विद्यालयका प्रधानाध्यापक वासुदेव पौडेलले बताउनुभयो। कार्यक्रममा पुरस्कार वितरण, अक्षयकोष दाताको सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम हुने बताइएको छ। सोही दिन विभिन्न व्यक्तिले अक्षयकोष स्थापनाको घोषणा गर्ने अध्यक्ष पौडेलले बताउनुभयो। विद्यार्थी भर्ना अभियानलाई समेत संचालन गरेको विद्यालयको वाषिर्कोत्सव कार्यक्रम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न हुने बताइएको छ।