२०८० चैत्र १६ , शुक्रवार

अमेरिकामा फेरी अर्को गोलीकाण्ड, आठको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । अमेरिकाको टेक्सस राज्यको डलासस्थित एउटा सपिङ मलमा एकजना बन्दुकधारीले गोली चलाउँदा आठजनाको मृत्यु भएको छ । गोलीकाण्डपछि एलेन शहरमा रहेको उक्त मलबाट सयौँ मानिसहरूलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो ।

 

प्रत्यक्षदर्शीहरूका अनुसार ती बन्दुकधारीले आफ्नो वरपर रहेका मानिसहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए । बन्दुकधारीलाई घटनास्थलमै गोली हानी मारिएको प्रहरीले जनाएको छ । गोली लागेकामध्ये केही बालबालिका रहेको समाचारमा जनाइएको छ । आक्रमणमा परी घाइते भएका सातजनाको अस्तालमा उपचार भइरहेको छ भने तीमध्ये तीनजना गम्भीर घाइते छन् ।

 

सन् २०२३ शुरू भएयता अमेरिकामा १९८ गोलीकाण्ड भइसकेका छन् । गन भायोलेन्स आर्काइभका अनुसार त्यस्ता घटनामा चार वा चारजनाभन्दा मानिसहरू मारिएको वा घाइते भएका छन् । पछिल्ला तीन वर्षको आँकडा हेर्ने हो भने अमेरिकामा हरेक वर्ष ६०० भन्दा बढी गोलीकाण्डका घटना भएका छन् भने औसतमा हरेक दिन झण्डै दुईवटा घटना हुने गरेको गन भायोलेन्स आर्काइभले जनाएको छ ।