२०८१ बैशाख १४ , शुक्रवार

सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित

सुनाखरी न्युज/ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबरजस्ती करणीको मुद्दा आइतबार स्थगितको सूचीमा परेको छ । काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको उक्त मुद्दा अदालतबाटै स्थगितको सूचीमा परेको हो ।

 

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेको र फाँट नम्बर २८ को उक्त मुद्दा बिदामा बसेका न्यायाधीशको इजलासमा परेको कारण स्थगित भएको हो । फाँट नम्बर २८ मा रहेका निवेदन लगायतका अन्य सबै मुद्दाहरू स्थगितको सूचीमा परेको छ । हालसम्म २२ पटक पेशीमा चढेको उक्त मुद्दा ८ पटक स्थगितको सूचीमा परेको छ भने १४ पटक विभिन्न आदेश भएको छ ।

 

यसअघि वैशाख ११ गतेको पेसीमा चढेको उक्त मुद्दामा पीडित किशोरीको स्वास्थ्य परीक्षण गराउने डाक्टरलाई नै झिकाएर बकपत्र गराउने आदेश भएको थियो मुद्दाको सम्पूर्ण प्रक्रिया पूरा भई अङ्ग पुगेको उक्त मुद्दामा वैशाख २४ गते आइतबारका दिन अन्तिम सुनुवाइ हुने अपेक्षा गरिएको थियो । तर गोला तान्दा बिदामा बसेका न्यायाधीशको बेन्चमा उक्त मुद्दा परेपछि आइतबार अदालतकै तर्फबाट स्थगित भएको हो ।