२०८१ बैशाख ४ , मंगलबार

एकैपटक तार व्यवस्थापन गर्न कठिन : दूरसञ्चार प्राधिकरण

सुनाखरी न्युज/ काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन र इन्टरनेटका तार एकैपटक व्यवस्थापन गर्न कडिन रहेको जनाएको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। काठमाण्डौ महानगरपालिकाले यही वैशाख २७ गतेसम्म महानगरपालिकाभित्रका तार व्यवस्थित गर्न अल्टिमेटम दिएको छ। महानगरपालिकाको अल्टिमेटमपछि प्राधिकरणले काम अगाडि बढाइएको तर एकैपटक व्यवस्थित गर्न कठिन रहेको जानकारी गराएको हो।

अहिले तार व्यवस्थापनका लागि सडक निर्माण हुँदा ‘युटिलिटी डक्ट’को व्यवस्थापन गर्न कानुन निर्माण भइरहेको सूचनामा उल्लेख छ। ‘तारहरुलाई अल्पकालीन व्यवस्था गर्न महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरणसमेतको सहकार्यमा सिंहदरबार वरिपरि, पुतली सडक, कमलादी, ठमेल, एयर्पोर्ट माइतीघर लगायत पाटन दरबार क्षेत्रमा प्रयोगमा नरहेका तार हटाई बन्डलिङ गरिएको छ’, सूचनामा उल्लेख छ।

 

यसैगरी दूरसञ्चार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाई यसअघि नै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थापन हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भइरहेको प्राधिकरणले जनाएको छ। यसको व्यवस्थापन कार्यमा सेवा प्रदायक र प्राधिकरणबाट भइरहेको कार्यलाई सघाउ पुर्याइदिन प्राधिकरणले महानगरपालिकासँग आग्रह गरेको छ।