२०८१ बैशाख १४ , शुक्रवार

प्राथमिकता प्राप्त आयोजनालाई मात्र बजेट छुट्टाउने र निजी क्षेत्रको आत्मविश्वास बढाउन लागिपरेको छु: अर्थमन्त्री महत

सुनाखरी न्युज/ काठमाडौं । पूर्वअर्थमन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न सुझाव दिएका छन्। अर्थमन्त्री डा प्रकाश शरण महतले आज आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरुसँग छलफल गरेका छन्।

 

सोही छलफलमा पूर्वअर्थमन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न सुझाव दिएका हुन्। उनीहरुले खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न पनि सुझाव दिए। छलफलमा पूर्वअर्थमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा प्रकाशचन्द्र लोहनी, डा युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए। छलफलमा अर्थमन्त्री महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गरे। उनले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरुलाई मात्र बजेट छुट्टाउने र निजी क्षेत्रको आत्मविश्वास बढाउन आफू लागिपरेको जानकारी गराए।

 

मन्त्री महतले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताए। उनले अन्य पूर्वअर्थमन्त्रीहरुबाट समेत निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गरे।