२०८० चैत्र १६ , शुक्रवार

आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्व अर्थ मन्त्रीहरु संग अर्थ मन्त्रीको छलफल

सुनाखरी न्युज/ काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीकालागि पूर्व अर्थ मन्त्रीहरुसंग छलफल गर्नुभएको छ । पूर्व अर्थ मन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न सुझावहरु दिनु भएको छ ।

 

छलफलमा पूर्व अर्थ मन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी हुनुहुन्थ्यो । छलफलकाक्रममा अर्थ मन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफु प्रयासरत रहेको र यसकालागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गर्नुभयो ।

 

उहाँले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरुलाई मात्र बजेट छुट्टाउने र नीजि क्षेत्रको आत्म विश्वास बढाउन आफु लागि परेको जानकारी गराउनुभयो । साथै उहाँले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र ताेकिएकाे समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताउनुभयो । अर्थ मन्त्री महतले अन्य पूर्व अर्थ मन्त्रीहरुबाट समेत निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ ।