२०८१ बैशाख १२ , बुधवार

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु,चार जना घाइते

सुनाखरी न्युज/ काठमाडौं । संखुवासभा — संखुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

 

दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताए । मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको हो ।

 

क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते छन् । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेमध्ये विक्रम शंकरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सिम्रिक एयरको अर्को हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ । त्यस्तै क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं लगिएको छ ।