२०८१ बैशाख ७ , शुक्रवार

अलपत्र परेको छावाको उद्धार

सुनाखरी न्युज/ काठमाडौं । भारतबाट नेपाल आएर अलपत्र परेको एउटा हात्तीको छावाको झापामा सकुशल उद्धार गरिएको छ । झापाको मेचीनगरस्थित बाहुण्डाँगीमा भारततर्फ आएका दुई दर्जन सङ्ख्यामा रहेका हात्तीहरूसँगै उक्त छावा पनि थियो । मानिसहरूको होहल्ला भएपछि हात्तीको हुल छावालाई छाडेर भारततर्फ फर्किएको जनाइएको छ ।

 

करिब एक महिनाको जस्तो देखिने छावालाई स्थानीयले घाइते अवस्थामा भेटेपछि पानी तथा आवश्यक आहारा खुवाएर स्नेहका साथ उसको आमालाई भेट गराउन र उपचाका लागि उद्धार गरेर भारततर्फ नै पठाइएको मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । स्थानीय मिलन चोकमा हात्तीको छावा अलपत्र परेको देखेपछि स्थानीयले मानव र हात्तीको द्वन्द्व न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेका अभियानकर्मीहरूलाई जानकारी गराएका थिए । हुलबाट छुटेको हात्तीको छावा आफै लडेर घाइते बनेको बताइन्छ । पहिला पहिला यसरी हात्तीको छावा देख्दा स्थानीयले कुट्ने र मार्ने गरेका थिए तर यो पटक उद्धारको काम भयो, वडाध्यक्ष कार्कीले भन्नुभयो । यो पटक छावालाई स्थानीय आफैले ट्याक्टरमा हालेर भारतीय वन अधिकारीको सहयोगमा आमा भेट्न पठाइएको छ, उहाँको भनाइ छ ।

 

मानव–हात्ती सहअस्तित्व अभियान चलाइरहनु भएका अभियन्ता शङ्कर लुइँटेलका अनुसार भोकाएको र घाइते अवस्थामा भेटिएको छावालाई प्राथमिक उपचार गरेर भारतीय वन अधिकारीहरूलाई बुझाइएको छ । छावाको भारतमा नै उपचार भइरहेको छ । वन अधिकारीहरूले आमा पत्ता लगाएर भेट गराउने बताएका छन् । यसैबिच बिहीबार बिहान सोही हात्तीको हुलमा रहेको हात्तीको आक्रमणमा परेर एक भारतीय नागरिक गम्भीर घाइते बन्नुभएको थियो । उहाँलाई पनि स्थानीय उद्धार गरेर भारत पठाएका थिए ।