२०८१ बैशाख ६ , बिहिवार

अव्यवस्थित तारको व्यवस्थापन गर्न कसैले सहयोग गरेन : बालेन

Balen

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अव्यवस्थित तारको व्यवस्थापन गर्न आफूलाई कसैले सहयोग नगरेको गुनासो गरेका छन् । बिजुलीका पोलहरूमा तारको अवस्था सुधारको लागि आवश्यक कानुन बनाउन आफूले आग्रह गर्दा कसैले चासो नदेखाएको उनको गुनासो छ ।

 

अव्यवस्थित तारले भौतिकरुपमा सहरलाई अव्यवस्थित बनाउने मात्र नभएर आगलागीको जोखिम पनि बढाउने हुनाले यसलाई व्यवस्थित गर्न आवश्यक रहेको बालेनले सामाजिक सञ्जालमार्फत बताएका छन् । ‘सहरका पोलहरूमा तारको अवस्था कस्तो छ भनिरहनु नपला ! त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले सहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन्,’ उनले फेसबुकमा लेखेका छन् ।

 

गत वर्षमात्रै अव्यवस्थित तारका कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ । यसलाई व्यवस्थित बनाउन, एकीकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसकेको बालेनको भनाइ छ । १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न सूचना जारी गर्दा पनि इन्टरनेटलगायत सेवा अवरुद्ध हुन सक्ने कारण देखाएर यस्तो कार्य नगर्न आदेश जारी गरेको भन्दै उनले गुनासोसमेत पाखेका छन् ।

 

‘त्यसतिर कुनै सुनुवाइ नभएर हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ । यसबीच पनि यो समस्या सुनुवाइ होला भन्ने आस थियो तर त्यसका विपरीत त्यो तार व्यवस्थापन गर्दा इन्टरनेटलगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो,’ उनले थपेका छन् । व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौँ महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर रहेको पनि मेयर बालेन उल्लेख गरेका छन् ।