२०८१ बैशाख १३ , बिहिवार

बीमाको पहुँच ४४ प्रतिशत जनसंख्यामा पुग्यो

सुनाखरी न्युज/ काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४४.५५ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार पछिल्लो समय सर्वसाधारणमा बीमाको पहुँचमा बढ्दै गएको पाइएको हो । गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा बीमाको पहुँच ७.२१ प्रतिशतले बढेको हो ।

 

बीमा प्राधिकरणका अनुसार चालु आवको चैत मसान्ततसम्म बीमाको दायरामा आएको जनसंख्या प्रतिशत (म्यादि, लघुम्यादि र वैदशिक रोजगार जीवन बीमालेख सहित) बीमाको दायरा ४४.५५ प्रतिशत पुगेको छ । गत आवको पुस मसान्तसम्म बीमाको दायरामा आएको जनसंख्या प्रतिशत (म्यादि, लघुम्यादि र वैदशिक रोजगार जीवन बीमालेख सहित) बीमाको प्रतिशत ३७.३४१ प्रतिशत पुगेको रहेको थियो । त्यसैगरी, चैत मसान्तसम्म कुल जीवन बीमालेख संख्या २०.१४ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका तथ्याङक अनुसार गत वर्षको चैत मसान्तदेखि यस वर्षको चैत मसान्तसम्म बीमालेख संख्या २३ लाख ७४ हजार ३ सयले बढेको हो । गत वर्षको चैत मसान्तसम्म कुल बीमालेख संख्या एक करोड १७ लाख ९१ हजार ६९८ रहेकोमा यस वर्षको सोही अवधिमा १ करोड ४१ लाख १५० पुगेको छ ।

 

प्राधिकरणका अनुसार कुल निर्जीवन बीमालेख भने घटेको छ । गत वर्षको चैत मसान्तसम्म २१ लाख ७५ हजार ४१४ बीमालेख रहेकोमा यस वर्षको सोही अवधिमा उक्त बीमालेख ०.४२ प्रतिशतले घटेर २१ लाख ६६ हजार ३२८ पुगेको छ । म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमा, जीवन बीमालेख बाहेक जीवन बीमालेख संख्यामा पनि १७.०५ प्रतिशतले वृद्धि भएको । यस अवधिमा म्यादि र लघु म्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक जीवन बीमालेखको संख्या ५५ लाख ७२ हजार ०५२ पुगेको छ । गत वर्षको सोही अवधिमा म्यादि, लघु म्यादि जीवन बीमालेख संख्या ४७ लाख ६० हजार ३०९ रहेको थियो । प्राधिकरणका अनुसार यस अवधिमा कुल बीमाशुल्क संकलनमा पनि २.६७ प्रतिशतले बढेको । गत वर्ष एक खर्ब ३१ अर्ब २४करोड १३ लाख रुपैयाँ बीमा शुल्क संकलन भएकोमा चालु आवको समिक्ष अवधिमा उक्त बीमा शुल्क संकलनमा बढेसँगै एक खर्ब ३४ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

 

त्यस्तै, जीवन बीमा शुल्क संकलनमा पनि २.१४ प्रतिशतले बढेको छ । गत वर्षको चैत मसान्तसम्म एक खर्ब २ अर्ब ५४ करोड एक लाख रुपैयाँ बीमा शुल्क संकलन भएकोमा यस वर्ष एक खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । निर्जीवन बीमा शुल्क संकलनमा पनि ४.५८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको चैत मसान्तसम्म २८ अर्ब ७० करोड १ज्ञ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको यस वर्ष ३० अर्ब एक करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

 

यस अवधिमा म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक पाँच प्रतिशत घटाएर लिएको बीमालेखको संख्या ५२ लाख २६ हजार ४९२ रहेको छ । त्यस्तै, पाँच प्रतिशत घटाएर लिएको म्यादि जीवन बीमालेख सहितको संख्या १ करोड २१ लाख ७३ हजार ९५६ रहेको छ । गत वर्षको सोही अवधिमा उक्त बीमालेख संख्या ९१ लाख २८ हजार ९७८ रहेको थियो । म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख सहित पाँच प्रतिशत घटाएर लिएको बीमालेखको संख्या एक करोड ३५ लाख ३० हजार ६६४ रहेको छ । गत वर्षको सोही अवधिमा उक्त बीमालेख संख्या एक् करोड १२ लाख ४४ हजार ७५४ रहेको थियो ।

 

साथै, म्यादि र लघु म्यादि बीमा जीवन बीमालेखसहित बीमाको दायरामा आएको जनसंख्या ३९.७४ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको म्यादि र लघु म्यादि बीमा जीवन बीमालेख जनसंख्या ३७.३५ प्रतिशत रहेको तथ्याङकमा उल्लेख छ । प्राधिकरणका अनुसार बीमा कम्पनीहरुको कार्यालयको संख्यामा भने ५.४८ प्रतिशतले घटेको छ । गत वर्ष बीमा कम्पनीका कार्यालयहरु ३ हजार ३३७ रहेकोमा यस वर्ष ३ हजार ३७८ पुगेका छन् । त्यस्तै, यस अवधिमा बीमा कम्पनीका कर्मचारीको संख्या पनि ३.३२ प्रतिशतले घटेर ११ हजार ४५३ जना पुगेका छन् । गत वर्षको सोही अवधिमा बीमा कम्पनीहरुमा ११ हजार ८४६ कर्मचारी पुगेको तथ्याङकमा उल्लेख छ ।