२०८० चैत्र १६ , शुक्रवार

मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीको लागि चुनौतिपूर्ण : अध्यक्ष ढकाल

सुनाखरी न्युज/ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्ण रहको बताउनुभएको छ ।

बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको ९ महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले भर्खरै तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्र संकुचन देखिएको बताउनुभयो । अध्यक्ष ढकालले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हुन नसक्ने उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्ण रहेको बताउनुभयो । उहाँले पछिल्लो समय उद्योगी व्यवसायीहरुको आत्मबल बढ्न नसकेको बताउनुभयो ।

 

उहाँले सरकारले व्यवसायीमैत्री मौद्रिक तथा आर्थिक नीतिहरु ल्याएर उद्योगी व्यवसायी र आम जनताको आत्मबल बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले अर्थतन्त्रको वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरुको आत्मबल बढाउने काम नगरेसम्म अर्थतन्त्रमा सुधार आउन नसक्ने बताउनुभयो । अध्यक्ष ढकालले अर्थतन्त्रमा आएका वर्तमान समस्या र चुनौति समाधान गर्न सरकार, नियमन निकाय र निजी क्षेत्र सबै हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा वर्तमान समस्या र चुनौति आउनुमा निजी क्षेत्र, नियमन निकाय र सरकार पक्षको केही न केही दोष रहेको बताउनुभयो ।

 

उहाँले निजी क्षेत्रले बैंकहरुले सहज रुपमा कर्जा दिँदा घरजग्गा, शेयर वा सवारी साधन खरिदमा लगानी गर्नु व्यवसायीहरुको पनि दोष भएको बताउनुभयो । उहाँले मुलुक श्रीलंका बन्छ भन्दै मौद्रिक नीतिमा कडाई गर्ने पोलिसी मेकरको पनि दोष रहेको दाबी गर्नुभयो । उहाँले वर्तमान मुलुकको अर्थतन्त्रको समस्या र चुनौतिबाट बाहिर आउनको लागि सबै पक्ष मिलेर जानुको विकल्प नभएको बताउनुभयो ।

 

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ग्रिल तथा स्टिल व्यवसायीमाथि सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले ग्रिल तथा स्टिल व्यवसायी महानगरमा उद्योग दर्ता गर्न नदिने अवस्था रहेको भन्दै देशभर सबै महानगर घोषणा हुने हो भने व्यवसाय कहाँ गर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले ग्रिल तथा स्टिल व्यवसायलाई सरकारले केही न केही व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । उहाँले उद्योग दर्ता गर्न नदिने हो भने विदेशबाट आयात गर्नुपर्ने र भएका व्यवसायीहरु पनि पलायन हुनुपर्ने अवस्था आउने बताउनुभयो । उहाँले ग्रिल तथा स्टिल व्यवसायलाई बलिया बनाउनको लागि दरिलो नीतिगत व्यवस्था आवश्यक रहेको बताउनुभयो । उहाँले बैंकहरु लगानीकर्ता, उद्यमीलाई चर्को ब्याजदर असुलीतर्फ गईरहेको बताउनु भयो । उहाँले बैंकको ब्याजदर उच्च भइरहे उद्योग व्यवसाय फष्टाउन नसक्ने दाबी गर्नुभयो । उहाँले सरकारले उत्पादन, देशको पूर्वाधार विकास, जलविद्युत क्षेत्र गरी पब्लिक प्राईभेट पार्टनरसिपमा लगानी गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो ।

 

त्यस्तै, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले घरेलु तथा साना उद्योगीहरुलाई संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा घरेलु तथा साना उद्योगहरु नविकरण गर्न नसक्ने बताउनुभयो । उहाँले घरेलु तथा साना उद्योगहरुले बैंकबाट दिएको कर्जामा पुनःताजकिकरण गर्न माग गर्नुभयो । उहाँले राष्ट्र बैंकले लघु, घरेलु, साना उद्योगीहरुका लागि छुट्टै एउटा बास्केटमा राखेर उनीहरुको ब्याजदरमा पनि सहुलियत हुनुपर्ने बताउनुभयो ।