२०८१ बैशाख १३ , बिहिवार

‘प्रसाद २’ वैशाख २८ देखि अष्ट्रेलियामा प्रदर्शन

सुनाखरी न्युज/ काठमाडौं। फिल्म ‘प्रसाद २’ वैशाख २८ गतेदेखि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । गत साता नेपालमा प्रदर्शनमा आएको यो फिल्मलाई अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले रिलिज गर्न लागेका हुन् ।

 

यी दुई वितरक कम्पनीले यसअघि प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’लाई समेत रिलिज गरेका थिए । तर यसपटक ‘प्रसाद २’ ले स्थानीय हलहरुमा उच्च शो पाएको समेत उनीहरुले बताए । सुदर्शन थापा निर्देशित यो फिल्म अष्ट्रेलियाका ४० भन्दा बढी हलमा रिलिज हुने जनाइएको छ । पहिलो साता शो संख्या १०० पुग्ने वितरकद्वय देव कार्की र रञ्जित वन्तले बताए ।

 

यो फिल्म अष्ट्रेलियाका ठूला मल्टिप्लेक्सहरु इभेन्ट सिनेमा, युनाइटेड सिनेमा, होयट्स सिनेमा लगायतमा प्रदर्शन हुने जनाइएको छ । विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, विशाल पहारी र महेश त्रिपाठी अभिनित यो फिल्मले जातीय विभेद र प्रेमकथाको कथावस्तु पेश गर्छ ।