२०८१ बैशाख १३ , बिहिवार

प्रहरी महानिरीक्षकबाट इलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवन उद्‍घाटन

सुनाखरी न्युज/ काठमाडौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इलाका प्रहरी कार्यालय बुटवल रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गर्नुभएको छ ।

 

प्रहरी महानिरीक्षक कुँवरले बिहीबार आयोजित एक कार्यक्रमबीच परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको उद्‍घाटन गर्नुभएको हो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।

 

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिबद्ध र प्रयासरत रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बिकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. धुर्व अधिकारीले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

प्रहरी ब्यारेक भवन र कार्यालय प्रमुख निवास भवन सरकारको नियमित बजेटबाट कुल ३ करोड १९ लाख १३ हजार ३ सय ३६ रूपैयाँ ३२ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । प्रहरी कार्यालय भवन, भान्सा घर र नागरिक सहायता कक्ष प्रदेश सरकारको नियमित बजेटबाट कुल २ करोड ४१ लाख २० हजार ४ सय ६२ रूपैयाँ २१ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।