२०८१ बैशाख १९ , बुधवार

राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री बेलायत प्रस्थान

सुनाखरी न्युज/ काठमाडौं। बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद बेलायत प्रस्थान गरेका छन् । उनी २६ गते काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव दिपककुमार जोशीले जानकारी दिएका छन् ।

 

उक्त राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भए पनि स्वास्थ्यका कारण राष्ट्रपति पौडेल जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो । आगामी मे ६ तारिख (वैशाख २३) मा लन्डनको वेस्टमिनिस्टर गिर्जाघरमा हुने राज्याभिषेक समारोहमा हुनेछ । यसअघि सन् २००३ मा तत्कालीन राजा ज्ञानेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा बेलायत भ्रमण गरेका थिए । त्यसअघि स्वर्गीय राजा वीरेन्द्रले सन् १९८० र १९९५ मा तथा राजा महेन्द्रले सन् १९६० मा बेलायत भ्रमण गरेका थिए । नेपालका राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी दुवैले भ्रमण गरेनन् ।

 

वकिङ्घम राजप्रासादका अनुसार राज्याभिषेक समारोहमा झन्डै दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ । समारोहमा संसारभरका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवार सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुने अपेक्षा छ । वेस्टमिनिस्टर आबीमा सन् १०६६ देखि राज्याभिषेक समारोह हुँदै आएका छन् । गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेक समारोहमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलाले पनि रानी मेरीको मुकुट लगाउनेछिन् । एलिजावेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन नेपालबाट तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्कालाई लन्डन पठाइएको थियो । नेपालले बेलायतसँग पहिलो कूटनीतिक सम्बन्ध सन् १८१६ मा राखेको थियो ।