२०८१ बैशाख १२ , बुधवार

पूर्वाधार निर्माणमा सार्वजनिक आव्हानको प्रभाव,अनधिकृत काम गर्नेलाई नगर प्रहरी बलबाट जरिवाना

सुनाखरी न्युज/ काठमाडौं। साविक पुरानो बसपार्क आसपास क्षेत्रमा थुपारिएका निर्माण सामग्री हटाइएको छ । सर्वसाधारणको आवतजावतमा बाधा हुने गरी सामग्री राखेर हिलो बनाएपछि निर्माण पक्षलाई १० हजार रुपैयाँ जरिवाना तिराएर सामग्री हटाउन लगाइएको हो ।

 

यता वडा नं. १२ टेकुबाट लगनतर्फ प्रबेश गर्ने भित्री सडकमा निर्माण सामग्री थुपारे राख्ने प्रवृत्तिमा कमी आएको छ । स्थानीय लक्ष्मण चित्रकार भन्नुहुन्छ, ‘महानगरले यस पटक निकालेको सूचनाबाट मानिसहरु सचेत भएको पाएको छु ।’वडा ३ महाराजगञ्ज क्षेत्रमा निर्माण भइरहेको निजी घरलाई १० हजार रुपैयाँ जरिवाना तिराइयो । भवन बनाउने सामग्री सडकमै राखेर सार्वजनिक सम्पत्तिको सार्वजनिक उपयोगमा बाधा गरेकोले जरिवाना तिराइएको हो । सहरी सुन्दरता, विकास व्यवस्थापनको काम गर्दाका त्रुटी सच्याउन महानगरले नियमनलाई कडा बनाएपछिका यी प्रतिनिधि घटना हुन् ।

 

सहरी व्यवस्थापनको नियमन गरिरहेको नगर प्रहरी बलको आन्तरिक प्रशासन शाखाले अनधिकृत काम गर्नेहरुलाई कारवाही गरेर गएको साउनदेखि अहिलेसम्म ३ लाख ३७ हजार ५ सय रुपैयाँ जरिवाना तिराएको छ । सडक अवरोध हुने गरी मोटरसाइकल वर्क सप सञ्चालन गर्ने, अनधिकृत रुपमा फोहोर फाल्ने, निर्माण सामग्री तथा उपकरण राख्ने, पोष्टर, पम्प्लेट र व्यानर टाँस्ने, मनोहरा खोलाबाट बालुवा निकालेर बेच्नेहरुलाई जरिवाना तिराएर राजस्व खातामा रकम जम्मा गर्ने गरिएको छ । शाखाले अहिलेसम्म तिराएको जरिवाना कम्तीमा ५ सय रुपैयाँ छ भने बढीमा २० हजार रुपैयाँ छ । यसबाहेक अनधिकृत फोहोर गर्नेहरुलाई वातावरण व्यवस्थापन विभागले पनि जरिवाना गराउने गरेको छ ।

 

सार्वजनिक सम्पत्तिका रुपमा रहेका सडकलाई व्यक्तिले व्यक्तिगत प्रयोगमा ल्याउन थालेपछि महानगरपालिकाले यस्ता क्रियाकलाप नियन्त्रण नियमनमा सक्रियता बढाएको छ । महानगरका प्रवक्ता नविन मानन्धर भन्नुहुन्छ, ‘हामीले सडकमा कुनै पनि प्रकारको वाधा नगराउन विकास साझेदार कार्यालयलाई पत्र पठाएका छौँ । साझेदार र सर्वसाधारणलाई सार्वजनिक सूचना प्रकाशन गरेर सूचित गराएका छौँ । सूचनामार्फत गरिएको अनुरोध पालना भए नभएको हेर्न महानगर प्रहरी बलले अनुगमन निरीक्षण गरिरहेको छ ।’आँखा छल्न पाइयो भने सडकमै मोटरसाइकल बनाउने, धुने, घर बनाउने डण्डी, सिमेन्ट, बालुवा, रोडा, औजार तथा उपकरण थुपार्नेलगायत काम हुने गरेका छन् । यो काम सर्वसाधारणले मात्र होइन, पूर्वाधार निर्माण, सेवा सुविधा वितरणका लागि काम गर्ने विकास साझेदारले पनि गर्ने गरेका छन् । काम सकिएपछि पनि निर्माण सामग्री नउठाउने, सडक वा सडक पेटी पुनस्र्थापना नगर्ने परिपाटी पनि उत्तिकै छ । सहरमा यस प्रकारका गल्ती नगर्न महानगरले समन्वय बैठकमार्फत निकायगत अधिकारीहरुलाई अनुरोध गर्ने गरेको छ ।

महानगर प्रहरी बलले भौगोलिक क्षेत्रलाई ४ भागमा बाँडेर क्षेत्रगत कमाण्डरको अभ्यास यस अघिदेखि नै गरिरहेको छ । यसअन्तर्गत अहिले पूर्व क्षेत्रमा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल, मध्य क्षेत्रमा नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, पश्चिम क्षेत्रमा नगर प्रहरी नायव उपरीक्षक मीनबहादुर थापा र उत्तरमा नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टको नेतृत्वमा सहरी व्यवस्थापन अनुगमन, निरीक्षण, नियमन भइरहेको छ । अनुगमन टोलीले कसुरको मात्रा हेरेर जरिवाना गराउने र आवश्यक परे निर्माण सामग्री जफत गराउने गरेको छ । अनुगमनका क्रममा पहिले अनधिकृत कामका बारेमा जानकारी गराइन्छ । त्यसपछि सचेत गराइन्छ । यति गर्दा पनि नमानेपछि जरिवाना तिराउने, सामान जफत गर्ने जस्ता कारवाही गर्ने गरिएको छ ।

सडक, चोक तथा गल्लीमा निर्माण सामग्री, औजार तथा उपकरण राखेको देखिए काठमाडौँ महानगरपालिकाका हटलाइन नम्बरहरु ११९० र ५५११ मा सम्पर्क गर्न सकिन्छ । सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्नुहुन्छ, ‘गुनासो प्राप्त भयो भने तत्काल कारवाहीका लागि टोली परिचालन हुने व्यवस्था गरिएको छ ।’२०८० बैसाख ४ गते काठमाडौँ महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै सहरको सार्वजनिक निजी पूर्वाधार निर्माण तथा मर्मत कार्यलाई व्यबस्थित र सुरक्षित बनाउन अपनाउनु पर्ने बिभिन्न मापदण्ड अपनाउन सरोकारवालाको ध्यानाकर्षण गराएको छ । सूचना कार्यान्वयन नगर्ने (सरकारी कार्यालय, फर्म, कम्पनी तथा संस्था र व्यक्ति) सबैलाई कारवाही गरिने सूचनामार्फत जानकारी गराइएको छ ।