२०८१ बैशाख ८ , शनिवार

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारत भ्रमणमा जाँदै

सुनाखरी न्युज/ काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार १० दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वराजा शाह भारत जान लाग्नुभएको हो ।

 

पछिल्लो दुई महिनाको अवधिमा ज्ञानेन्द्रको यो दोस्रो भारत भ्रमण हो । डेढ महिना अघि मात्रै उहाँ पूर्वी नेपाल हुँदै दार्जिलिङ भ्रमणमा जानुभएको थियो । यसपटक नेपालगञ्जबाट स्थलमार्ग हुँदै लखनउ जान लाग्नुभएका पूर्व राजाको साथमा पूर्व यूवराज पारसबाहेक परिवारका सबै सदस्यहरु पनि भारत जाने बुझिएको छ । उहाँका सुरक्षाकर्मीहरु भने नेपालगञ्जमै रहने छन् भने शाह परिवारको सुरक्षाको जिम्मा उत्तर प्रदेश सरकारले लिएको छ । यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार नेपालगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुनुभएको थियो ।

 

नेपालगञ्जको रामलिला मैदानमा बुधबार भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उहाँले जनताको जीवनस्तर सुधार हुन नसकेको र मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन सबैमा आह्वान गर्नुभएको हो । पूर्वराजा शाहले उद्योगधन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताउनुभयो ।