२०८१ बैशाख १२ , बुधवार

नेफ्टा फिल्म अवार्ड साउन ६ गते अमेरिकामा

सुनाखरी न्युज/ काठमाडौं। अमेरिकामा आयोजना हुन लागेको ११ औँ नेफ्टा फिल्म अवार्डको मिति सरेको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड आगामी साउन ६ गते (जुलाइ २२) मा तय गरिएको जानकारी चलचित्र प्राविधिक संघले दिएको छ । नेफ्टा अध्यक्ष पुष्कर लामाले आवश्यक तयारी नपुगेकाले अवार्ड समारोह पोस्टपोन्ड गरिएको जानकारी दिए ।

 

अवार्डको अमेरिका आयोजक मध्येको एक फेम नेपालका प्रमुख विमल पछाइले नयाँ मितिमा अवार्डलाई थप समावेशी, बृहत र सफल तुल्याउन सजिलो हुने आशा लिइएको बताए । जसअनुसार आगामी वैशाख ३१ मा अवार्डका सर्वश्रेष्ठ पाँचको मनोनयन घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । जुरीले गरेका मूल्यांकनको आधारमा टप फाइभ घोषणा हुने अध्यक्ष लामाले जनाए । उत्कृष्ट पाँचमा अटाउने सबै फिल्मकर्मीले अमेरिकामा हुने अवार्डमा सहभागिता जनाउनेछन् ।

 

अवार्डमा २०७९ सालभित्र प्रदर्शन भएका फिल्मले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन् । जुरीले फिल्म हेरेर मूल्यांकन गर्ने काम सकेका छन् । अमेरिकाअघि नेफ्टाका विदेशी संस्करणहरु यूएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भैसकेका छन् । अमेरिकी संस्करणका लागि फेम नेपालसहित युएस खबर र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन् ।