२०८१ बैशाख १४ , शुक्रवार

‘बाघचाल’बाट अभिनयमा डेब्यु गर्दै दीपक मनाङे

सुनाखरी न्युज/ काठमाडौं। गण्डकी प्रदेशका सांसद दीपक मनाङेको प्रस्तुतिमा एक्सन-लभस्टोरी फिल्म ‘बाघचाल’ निर्माण हुने भएको छ । तीन नायक र तीन नायिका पात्र रहने फिल्मको शीर्षमध्येको भूमिकामा स्वयं मनाङे समेत देखिने भएका छन् । अभिनयका हिसाबले यो उनको डेब्यु फिल्म हुनेछ ।

 

निर्माता तथा अभिनेता सविन श्रेष्ठका अनुसार फिल्ममा मनाङेले एक विशेष भूमिका निर्वाह गर्नेछन्, जसबारे चाँडै हुने पत्रकार सम्मेलनमार्फत बताइने भएको छ । फिल्मको तीन नायकमध्ये एकमा सविन हुनेछन् भने बाँकी दुई नायक फाइनल हुन बाँकी छ । दुई नायिकामध्ये एकमा अनु शाह हुन सक्ने जनाइएको छ भने अर्की मुम्बईमा रहने नेपालीभाषी अभिनेत्री हुनेछिन् ।

 

उनीसँग फिल्म साइन गर्न सविन अर्को साता मुम्बई जाँदैछन् । यो फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन् भने निर्देशन सम्राट बस्नेतले गर्नेछन् । यसअघि पनि ‘बाघचाल’ शीर्षकमा फिल्म निर्माण भएको थियो तर १० वर्षपछि सोही नाममा अर्को फिल्म बनाउन पाइने कानुनी व्यवस्था छ । दशैंअघि छायांकन गर्ने तयारी रहेको फिल्मलाई अर्को वर्षको वैशाख १ गते रिलिज गर्ने लक्ष्य राखिएको छ ।