२०८१ बैशाख १४ , शुक्रवार

नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा हाइप्रोफाइल तानिदै

सुनाखरी न्युज/ काठमाडौं।नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणले लहरो तान्दा पहरो थर्किने अवस्था देखिएको छ । पूर्वमन्त्री तथा बहालवाला सांसद टोपबहादुर रायमाझी, तात्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा.इन्द्रजित राई र सचिव टेकनारायण पाण्डे तानिएपछि हाईप्रोफाइलको साँठगाँठ देखिएको हो । पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले अन्य पात्रको खोजी गरिरहेको जनाएको छ ।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो । तात्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई पूर्वमन्त्री रायमाझीले सहयोग गरेको पुष्टि भएको छ । गिरोहका सदस्यले रायमाझीका छोरा सन्दीप रायमाझीका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ।

 

पैसा उठाउने गिरोहमा तात्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उहाँका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ।राईलाई प्रहरीले सोमबार बिहानै ललितपुरबाट पक्राउ गरेको हो । राई पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकारसमेत हुनुहुन्थ्यो ।सुरक्षा सल्लाहकार हुँदा नै भुटानी शरणार्थीका नाममा नक्कली परिचयपत्र बनाउन शंकास्पद भूमिका देखिएपछि राई पक्राउ पर्नुभएको हो ।यसअघि नै पक्राउ परेका दुलाल, भण्डारी र गुरुङको बयानका आधारमा राईलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नियन्त्रणमा रहेका दुलाल कांग्रेस नेतृ तथा पूर्वमन्त्री सुजाता कोइरालाको स्वकीय सम्हालेका व्यक्ति हुन् ।

 

काठमाडौं प्रहरीले उनीहरूमाथि संगठित ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ । प्रहरीको अनुसन्धानले उनीहरूले ५ सय जना नेपालीलाई नक्कली भुटानी शरणार्थीका नाममा परिचयपत्र बनाएर २५ अर्ब रुपैयाँ ठगी गरेको जनाएको छ । पूर्वगृहमन्त्री थापाकै सुरक्षा सल्लाहकार पक्राउ परेलगत्तै थापाको भूमिकामाथिसमेत औंला उठेको छ । उहाँका छोरा प्रतिक थापाका नाममा समेत प्रहरीले वारेन्ट जारी गरेको छ । सरकारले तीन महिनाको समयसीमा तोकेर गठन भएको कार्यदलले २०७६ असारमा गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन अझै सार्वजनिक छैन । तर, ठगी गर्ने गिरोहले त्यही प्रतिवेदन हात पारेर नेपालीलाई नक्कली शरणार्थी बनाएको प्रहरी दाबी छ ।

 

कार्यदलले प्रतिवेदन गृह मन्त्रालय बुझाउँदा प्रेम राई गृहसचिव हुनुहुन्थ्यो । उहाँपछि महेश्वर न्यौपाने हुँदै २०७८ साउन २७ माटेकनारायण पाण्डे गृहसचिव बन्नुभयो । पाण्डे गृहसचिव हुँदा कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री हुनुहुन्थ्यो । खाँणको समूहलाई समेत प्रभावमा पारेर ठगी गर्ने गिरोहले ठगी गरेको प्रहरी दाबी छ । थापा गृहमन्त्री हुँदा हाल अख्तियार प्रमुख रहेका प्रेम राई गृहसचिव हुनुहुन्थ्यो । गिरोहले सरकारी कार्यदलले तयार पारेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपालीलाई शरणार्थी बनाएको खुलेको हो । उक्त प्रतिवेदन गृह मन्त्रालयका तात्कालिन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित समितिले २०७६ सालमा तयार पारेको थियो ।