२०८१ बैशाख २२ , शनिवार

हराइरहेका अस्ट्रेलियाली नागरिकको अवशेष गोहीको शरीरभित्र भेटियाे

सुनाखरी न्युज/ काठमाडौं। साथीहरूसँग माछा मार्ने क्रममा बेपत्ता भएका एक अस्ट्रेलियाली व्यक्तिको अवशेष गोहीभित्र फेला परेको छ । ६५ वर्षीय केभिन डार्मोडीलाई शनिवार उत्तरी क्वीन्सल्याण्डको दुर्गम भागमा रहेको गोहीको वासस्थान – केनेडिज बेन्डमा अन्तिम पटक देखिएको थियो ।

 

दुई दिनको खोजी अभियान पछि प्रहरीले दुई वटा ठुला गोहीलाई मारे । अनुसन्धान गर्दा त्यसभित्र मानव अवशेष फेला परेको छ । प्रहरीले डार्मोडीका लागि यो ‘दुःखद अन्त्य’ भएको बताएको छ । औपचारिक पहिचान प्रक्रिया छिट्टै पूरा गरिनेछ । डार्मोडी एक अनुभवी माझी थिए भने केप योर्क समुदायका एक चर्चित सदस्य पनि । ४.१ मिटर (१३.४ फिट) र २.८ मिटर लम्बाइ भएका दुई गोहीलाई उनलाई अन्तिम पटक देखेको ठाउँबाट करिब १.५ किलोमिटरमा सोमबार गोली हानेर मारिएको थियो ।मानव अवशेष ती दुई गोहीमध्ये एउटामा मात्रै फेला परेको थियो तर वन्यजन्तु अधिकारीले घटनामा ती दुवै सहभागी भएको अनुमान गरेका छन् ।

 

डार्मोडीसँगै माछा मारिरहेका अर्का एक माझीले आक्रमण नदेखेको तर डार्मोडीको चिच्याहट र पछि छप्ल्याङ् गरेको पानीको ठुलो आवाज सुनेको बताइन्छ । ‘म दौडिएर त्यता तिर लागेँ । तर उनी कतै देखिएनन् । किनारामा उनको चप्पल थियो, अरू केही थिएन,’ उनका साथी जोन पिइटीले द केप योर्क विक्लीलाई भने । अस्ट्रेलियाका केही स्थानमा गोही सामान्य छन् तर आक्रमण भने दुर्लभ छन् । डार्मोडीको मृत्यु क्विन्सल्यान्डमा सन् १९८५ मा रेकर्ड राख्न सुरु भएदेखि १३ औँ घातक हमला हो ।एजेन्सी