२०८१ बैशाख ११ , मंगलबार

निरन्तर ओरालो लाग्यो नेप्से

Share Down

सुनाखरी न्युज/ काठमाडौं।नेप्से परिसूचक निरन्तर पाँचौ कारोबार दिन ओरालो लागेको छ। गत साताको बुधबारदेखि ओरालो लागेको नेप्से, यस दिन अर्थात बुधबार पनि ओरालो लागेर बन्द भएको छ।

 

यस दिन नेप्से परिसूचक ९.१८ अंक घटेर १८५७.२३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ इण्डेक्स ०.३५ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ७० करोडको शेयर कारोबार भएको बजारमा यस दिन २६५ स्टकको १८ हजार ८७२ पटकको कारोबारमा ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको २१ लाख ५५ हजर कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन ७३ स्टकको मात्र मूल्य बढेको छ। जसमध्ये आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.०९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य ५.६६ प्रतिशत बढेको छ। यस दिन १७६ स्टकको मूल्य घटेको छ।

 

जसमध्ये एनआईबिएल ग्रोथ फण्ड र सनराइज ब्लुचिप फण्डको इकाईमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी र हिमाल दोलखा हाइड्रोपावरको २ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।