२०८० चैत्र १६ , शुक्रवार

कँडेल मृत्यु प्रकरणमा दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

सुनाखरी न्युज / हेटौँडा – चितवनका पोल्ट्री व्यवसायी तथा नेपाली कांग्रेसका नेता शंकर कँडेल मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन गरेको भन्दै दुईजना विरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मानसिक यातनाका कारण कँडेलले आत्महत्या गरेको भन्दै आत्महत्या दुरूत्साहन मुद्दामा उनको परिवारले प्रहरीमा किटानी जाहेरी दिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

 

कँडेल नेतृत्वमा केहि अघिसम्म रहेको अनमोल फिड्स प्रालिको सेयर बिक्रीपछि देखिएको आन्तरिक समस्याको कारण कँडेललाई कम्पनीका ८५ प्रतिशत सेयर खरिदकर्ता प्रदीप रुङ्गटा र कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावल र एकजना चार्टर एकाउन्टेले नियमित मानसिक तनाव दिएपछि आत्महत्याको लागि कँडेल विवश बनेको सुसाईड नोटमा उल्लेख भएको पाइएपछि उनको परिवारले उजुरी दिइएको श्रोतको दाबी छ ।

 

नेपाल प्रेससँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपीरामेश्वर कार्कीले कँडेलका परिवारले दुईजना विरुद्ध किटानी जाहेरी दिएको बताए । को–को विरुद्ध जाहेरी दिइएको भन्ने विषयमा अहिले नै नाम उल्लेख गर्न नमिल्ने उनको भनाई रहेको छ । घटनाबारे गम्भीर छानबिन भएको भन्दै उनले अहिले नै आरोपित देखिएकाहरूको नाम उल्लेख गर्न नमिल्ने बताए ।कांग्रेस चितवनका पूर्व जिल्ला कोषाध्यक्ष समेत रहेका कँडेलको आत्महत्या र सुसाइड नोटबारे गम्भीर छानबिन गर्नुपर्ने माग नेपाली कांग्रेस चितवनले राखेको छ ।

 

नेपाल प्रेससँग कुरा गर्दै नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले घटनाको निष्पक्ष छानबिनको माग गरे । ९ पन्नाको सुसाइड नोटमा धेरै विषय खुलेको देखिएकोले यो विषयले देशको खस्कँदो गम्भीर आर्थिक अवस्थाको चित्रण गरेको बताए । भरतपुर महानगरपालिका ३, बेलचोकस्थित आफ्नै कार्यालयमा मंगलबार साँझ झुण्डिएको अवस्थामा कँडेल मृत फेला परेका थिए । त्यहीँ उनको सुसाइड नोटसमेत फेला परेको थियो ।