२०८१ बैशाख १४ , शुक्रवार

धादिङको धार्केमा फेरि सडक अवरुद्ध

सुनाखरी न्युज / काठमाण्डौ – धादिङको धार्केमा फेरि सडक अवरुद्ध भएको छ । गणेश खोलामाथिको पुलमा फेरि भ्वाङ परेपछि सडक अवरुद्ध भएको हो । अघि दिउँसो १२ बजेदेखि यो खण्ड हुँदै पृथ्वी राजमार्ग भएर चल्ने गाडी रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहे पनि समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक डीएसपी सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । उहाँका अनुसार नेपाली सेना, सडक विभागका कर्मचारीलगायतको टोलीले सडक बनाउने काम गरिरहेको छ ।

 

अस्ति सोमबार दिउँसो ४ बजेदेखि बन्द सडक हिजो बिहान १० बजे बल्ल एकतर्फी खुलाइएको थियो । १८ घण्टासम्म सडक अवरुद्ध हुँदा हिजो रातिसम्म नै जाम भएको थियो । सडक दुईतर्फी खुलाउने प्रयास भइरहेका बेलामा फेरि आज अर्को भ्वाङ परेको हो । सडक अवरुद्ध भएपछि प्रहरीले आज पनि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । पूर्व पश्चिमबाट काठमाण्डौ भित्रने र काठमाण्डौबाट बाहिरिने गाडीले हेटौंडा काठमाण्डौ र काठमाण्डौ नुवाकोट गल्छीको बाटोलाई वैकल्पिक बाटोको रुपमा प्रयोग गर्न सक्नेछन् । धादिङ, नुवाकोट, र रसुवाबाट काठमाण्डौ भित्रने र बाहिरिनेले नुवाकोटको त्रिशूलीबाट छहरे–ढिकुरेको सडक प्रयोग गर्न सक्नेछन् ।

 

यस्तै, पूर्व पश्चिमबाट काठमाण्डौ आउजाउ गर्नेले हेटौंडा हुँदै दामन–पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सक्नेछन् । पृथ्वी राजमार्ग भएर दैनिक हजारौँ संख्यामा गाडी र यात्रु ओहोरदोहोर गर्ने गरेका छन् । काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग भएकाले यो सडकखण्ड अवरुद्ध भए तराकारीदेखि खाद्यान्न र इन्धन ढुवानीमा समेत असर पर्छ ।