२०८१ बैशाख ६ , बिहिवार

स्मार्ट टेलिकमको सम्पत्ति हस्तान्तरण गर्न प्राधिकरणको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमका नाममा भएको सबै सम्पत्ति हस्तान्तरण गर्न सूचना जारी गरेको छ । बैशाख १ गतेसम्ममा लाइसेन्स नविकरण गर्नुपर्ने म्याद गुजारेपछि खारेजीमा परेको स्मार्ट लाई अनुमतिपत्र खारेज भएको सूचना जारी गर्दै सम्पत्ति हस्तान्तरणका लागि आह्वान गरेको हो ।

 

बुधबार सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले भनेको छ,‘अनुमतिपत्र नविकरणका लागि नियम अनुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेकाले स्मार्ट टेलिकमको लाइसेन्स स्वत खारेज भएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ दुरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम लाइसेन्स खारेज गरेको जनाउँदै अनुमतिपत्र बहालमा रहेका दुरसञ्चार सेवा प्रदायकको सम्पीत्त व्यवस्थापन नियमावली बमोजिम सो टेलिकमको सम्पत्ति हस्तान्तरण गर्न प्राधिकरणले स्मार्टलाई भनेको हो ।

 

सम्पत्ति व्यवस्थापन नियमावली २०७९ को नियम ९ को उपनियम १ बमोजिम दुर सञ्चार पूर्वाधार संरचना, दुरसञ्चार प्रणाली र दुरसञ्चार संञ्जाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्न अनुमति व्यवस्थापन शाखाले स्मार्ट टेलिकमलाई भनेको छ ।