२०८१ बैशाख १३ , बिहिवार

दाइजो प्रथालाई चुनौती दिँदै बिनोद र कृतिले गरे आदर्श विवाह

सुनाखरी न्युज/ काठमाडौं। तराईमा दाइजो प्रथा व्याप्त छ । तर, सप्तरीका एक युवाले विना दाइजो आदर्श विवाह गरेका छन् । राजविराज नगरपालिका ५ का यूवा बिनोद यादवले विना दाइजो विवाह गरेका हुन् । यहाँ विना दाइजो त विवाहको कल्पनै गर्न सकिँदैन । यस्तो बेला दाइजो विना विवाह गर्नु भनेको सिंगो समाजलाईनै चुनौती दिनु हो । बिनोदले विना दाइजो आदर्श विवाह गरेर दाइजो प्रथालाई चुनौती दिएका छन् ।

 

उनी सप्तरीका नेपाल विद्युत प्राधिकरणवाट आवकाश प्राप्त कर्मचारी असर्फी यादवका छोरा हुन् । घरमा विवाहको कुरा चलेपछि विना दाइजो आदर्श विवाह गर्ने सहमतिमा मात्रै उनी विवाह गर्न राजी भएका थिए । उनले मोरङको जहदा गाउँपालिका १ का अर्जुन यादवकी छोरी कृति यादवसँग आदर्श विवाह गरेका हुन् । कृतिका बुवा भने सामान्य किसान परिवारका हुन् । दुवैतर्फका परिवार शिक्षित भएका कारण उनीहरु बिच बिनादाइजो विवाहका लागि सहमत भएका थिए । दाइजोकै कारण तय भएको विवाह समेत नहुने, दाइजो नदिएका कारण बुहारीलाई अमानवीय व्यवहार गरिने जस्ता घोर निन्दनीय घटनाहरु भइरहँदा विना दाइजोको विवाह भइरहेको भनी जानकारी पाएपछि उनीहरुलाई बधाईसहित शुभकामना दिन प्रतिष्ठित व्यक्तित्वहरु समेत वैवाहिक समारोहमा उपस्थित भए ।

 

दाइजो प्रथालाइ निर्मूलीकरण र समाजमा छोरीप्रतिको सकारात्मक सन्देश दिन आदर्श विवाह गरेको बिनोदले बताए । सामाजिक परिवर्तनका लागि सुरुवात आफैँबाट शुरुवात गर्नुपर्ने भन्दै विनोदले दाइजो लिनेलाई समाजले वहिष्कार गर्नुपर्ने बताए । बिनोद हाल ग्लोबल आईएमई बैंकमा कार्यरत छन् । दुलही कृतिले छोरा–छोरी बिचको विभेद मेटाएर अभिभावकहरुले छोरा सरह छोरी पढाएर सक्षम बनाउँदै शिक्षित युवाहरुले दाइजोलाई बहिष्कार गर्नुपर्ने बताइन् । पढेलेखेका युवाहरुनै दाइजोरुपी लेनदेनमा संलग्न हुन्छन् भने शिक्षा र उपाधीको कुनै अर्थ नहुने उनको भनाइ छ ।