२०८१ बैशाख १४ , शुक्रवार

इराकमा पहिलोपल्ट नेपाली फिल्म ‘छक्कापञ्जा ४’ देखाइने

सुनाखरी न्युज/ काठमाडौं। इराकमा पहिलोपटक नेपाली फिल्मको प्रदर्शन हुने भएको छ । मध्यपूर्वमा नेपाली फिल्म वितरण गर्दै आएका रमेश ढकालले आगामी मे १२ मा इराकको कुर्दिस्तान सुलेमानी सहरमा ‘छक्कापञ्जा ४’ लाई प्रदर्शन गर्न लागेका हुन् ।

 

उक्त सहरको सिटी सिनेमा हललाई बुक गरेर फिल्म देखाउन लागिएको हो । दिनको दुई शोमा फिल्म देखाएर प्रदर्शनको थालनी गर्न लागिएको जानकारी उनले दिए । ‘दुई वर्षदेखिको प्रयास बल्लबल्ल सफल भएको छ । प्रदर्शनको मिति तय हुने बित्तिकै सेन्सरका लागि फिल्म पठाउँदै छु,’ उनले भने । ढकालले इराकस्थित नेपाली विनोद श्रेष्ठसँगको सहकार्यमा फिल्म देखाउन लागेका हुन् । ‘इराकमा नेपाली समुदायको उपस्थिति न्यून छ । यसअघि पनि प्रयास गरेका हौं तर बल्ल सम्भव भयो । अबदेखि मासिक न्यूनतम एउटा फिल्म रिलिज गर्ने मेरो योजना छ,’ उनले भने । इराकमा अरबिक सबटाइटलमा फिल्म रिलिज हुनेछ ।

 

‘पहिलो दिनको रेस्पोन्सको आधारमा शो थप्नेबारे विचार हुनेछ,’ उनले भने । ‘छक्कापञ्जा ४’ पछि ‘जारी’लाई पनि प्रदर्शन गर्ने तयारी गरिएको उनले जानकारी दिए । ढकालकै पहलमा मध्यपूर्वमा नेपाली फिल्म नियमित हलमा रिलिज हुँदै आएको छ । छक्कापञ्जा ४ मध्यपूर्वका कतार, यूएई, बहराइन र ओमानमा रिलिज भएको थियो । साउदीमा पनि फिल्म रिलिजको योजना रहेको उनले जनाए ।