२०८१ बैशाख १२ , बुधवार

नेपालमै अत्याधुनिक वातावरणमैत्री प्रविधिमा आधारित चाइनिज इटाको उत्पादन सुरु

सुनाखरी न्युज/ काठमाडौं। प्रबिधि भित्रिएको झन्डै आधा शताब्दीपछि नेपालमै अत्याधुनिक वातावरणमैत्री प्रविधिमा आधारित चाइनिज इटाको उत्पादन सुरु भएको छ । इटाभटाबाट वातावरण प्रदूषण वढेको भन्दै चर्काे आलोचना हुँंदै आए पनि यसअघिसम्म यस्तो आधुनिक प्रविधिबाट इटा उत्पादन गर्ने कार्य निजी क्षेत्रबाट हुन सकेको थिएन ।

कास्कीको पोखरास्थित पोल्याङमा कम्पनीको आफ्नै एक सय रोपनीको क्षेत्रफलमा उद्योग राखी इटाको उत्पादन थाल्न सफल भएको हो । यो ठाउँ पोखरा र दमौलीबाट करिव २० किलोमिटरको दुरीमा पर्दछ । पोखरा इको रेड ब्रिक्स प्रालिले झण्डै ३० करोडको लागानीमा पोखरामा जर्मन होफम्यान प्रविधिबाट इटा उत्पादन थालेको हो । पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले कारखानाबाट वार्षिक डेढ करोड इटा उत्पादन गर्न सक्ने क्षमता रहेको सुताए । झण्डै ४५ वर्ष अगाडि भक्तपुरको भक्तपुर चाइनिज इटा तथा टायल कारखाना र ललितपुरको हरिसिद्धि चाइनिज इटा तथा टायल कारखानामा जस्तै इटा पोल्ने प्रविधिको निर्माण गरी इटा उत्पादन थालेको जानकारी अध्यक्ष इन्जिनियर दुवालले गराए । ‘सामान्य इटाभटाको इटा पोल्ने स्ट्रकचर तथा इटा पोल्ने जनशक्ति पनि अहिलेसम्म विशेष गरेर भारतको विहारबाट आएका भारतीयहरुले गर्ने गरेका छन् । तर पोखराको पोल्याङमा नेपाली स्वयमले विशेष प्रकारको इटा पोल्ने प्रविधि होफम्यान क्लिन बनाइ नेपाली जनशक्तिबाट नै इटाको उत्पादन थालेका हौ, उनले भने ।

 

अत्याधुनिक प्रविधिको इटाभटा नेपालीले नै बनाइ उत्पादन थालेको इन्जिनियर दुवालको भनाई छ । ‘सामान्य इटाभटा फोर्स डग नै विहारीबाट गराउनु परिरहेको बेला नेपालीहरुबाट नै हामीले पोखरामा जर्मन प्रविधिमा आधारित होफम्यान क्लिन प्रविधिबाट इटा पोल्न आधुनिक भटाको निर्माण सम्पन्न गरी उत्पादसमेत थालेका छौं, इन्जिनियर दुवालले भने, ५० जना नेपालीहरुबाट झण्डै एकवर्षदेखि नै काम गराई अहिले उत्पादनको चरणमा पुगेका हौ ।’ यो प्रविधिको विकास सर्वप्रथम जर्मन वैज्ञानिक फ्रेडरिच होफम्यानले सन् १८५८ मा गरेको जनाइएको छ ।
प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भरत ओझाले उर्जा किफायती र वातावरणमैत्री हुने भएकाले इटा पोल्नका लागि नयाँं प्रविधिको इटाभटा सञ्चालन गर्ने योजना अनुसार आफूहरु सफल भएको जनाए । अहिले इटाभटाको धुलो धुवाको कारण वातावरण प्रदूषण भयो भनेर तीव्र आलोचना छ । यही आलोचनाबाट जोगाउन नयाँं प्रविधिको इटाभटा सञ्चालन गरेका हौं, उनले थपे ।

यो प्रविधिबाट इटा उत्पादन गर्दा धेरै जसो काम मेसिनले नै गर्ने गर्दछ । इटा पार्ने सम्पूर्ण काम मेसिनले गर्ने जनाइएको छ । निकट भविस्यमा ईटा सुकाउन ड्रायर बनाउने योजना भएको सिइओ ओझाले बताए ।. यो प्रविधिबाट इटा उत्पादन गर्दा ड्रायर बनिसकेपछि बाह्रै महिना कारखाना सञ्चालन हुने बताए । इटाको बढ्दो मागलाई ध्यानमा राखी प्रालिले यस्तो उत्पादन थाल्न लागेको जनाएको छ । नेपालमा पहिलादेखि चल्दै आएका यस प्रविधिमा आधारित दुई वटा चाइनिज इटा उद्योग थिए । तर यी दुवै भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग अहिले बन्द भइसकेका छन् । तर पनि भक्तपुरको इटा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ ।