२०८१ बैशाख ८ , शनिवार

सरकारी जग्गा व्यक्तिको नाममा गरिदिने मालपोत अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

cia

सुनाखरी न्युज/ काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरिदिने पर्सा मालपोतका तत्कालीन मालपोत अधिकृत पदम अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

पर्साको अलौ-५ को कित्ता नं. ९२ को सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेष्ता तयार गरी बिक्रीसमेत गरेको भन्ने उजुरी निवेदनमाथि अनुसन्धान गर्दा जिल्ला मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायव सुब्बा लेखनाथ भट्टराईले गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरिदिएको खुलेपछि अख्तियारले मंगलबार विशेष अदातलमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता भोला दाहालले उनीहरुविरुद्व भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा कैद र जरिवाना गर्न माग गरिएको जानकारी दिए । अर्याल र भट्टराईले सार्वजनिक जग्गाको भोगाधिकार व्यक्तिलाई हस्तान्तरण गरी राज्यलाई क्षति पुर्‍याएको अख्तियारको आरोप छ ।

 

त्यस्तै, पर्साको वीरगन्ज-२ का ज्याउल हक र एसानुल हक राकीले उक्त सरकारी जग्गामा बनेको घर स्वामित्व खुल्ने कागजातबेगर राजीनामा लिखत पारित गर्ने कार्यमा प्रतिवादी पदमप्रसाद अर्याल र लेखनाथ भट्टराईलाई सहयोग गरी आफूहरुले ऐलानी/सार्वजनिक जग्गा अनाधिकृतरुपमा भोगचलन गर्ने मनसायले राजीनामा लिखत पारित गराई लिएकोमा उनीहरुलाई समेत कारबाही गर्नुपर्ने अख्तियारको आरोप छ ।

 

मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराईसमेत ४ जना उपर गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


 

प्रेस विज्ञप्ति:- मिति २०८०।०१।१९ गते ।
—————————————————-

जिल्ला पर्सा अलौ गा.वि.स. वडा नं. ५ कि.नं. ९२ को सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेस्ता तयार गरी विक्रीसमेत गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराईले जिल्ला पर्सा साविक अलौ गा.वि.स. वडा नं. ५ कि.नं. ९२ को ऐलानी/सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिई ऐलानी/सार्वजनिक जग्गा कानून विपरित भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यबाट नेपाल सरकारलाई हानी पुर्‍याएको पुष्टि भएको हुँदा निज पदम प्रसाद अर्याल र लेखनाथ भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही दफा ९ बमोजिम कैद र जरिवाना साथै  जिल्ला पर्सा, वीरगंज महानगरपालिका वडा नं. २ बस्ने ज्याउल हक र एसानुल हक राकीले जिल्ला पर्सा साविक अलौ गा.वि.स. वडा नं. ५ कि.नं. ९२ को ऐलानी/सार्वजनिक जग्गामा बनेको घर स्वामित्व खुल्ने कागजात वेगर राजीनामा लिखत पारित गर्ने कार्यमा प्रतिवादी पदम प्रसाद अर्याल र लेखनाथ भट्टराईलाई सहयोग गरी आफूहरुले ऐलानी/सार्वजनिक जग्गा अनाधिकृतरुपमा भोगचलन गर्ने मनसायले राजीनामा लिखत पारित गराई लिएको तर घरमात्र राजीनामा लिखत पारित गर्ने कुनै कानूनी व्यवस्था नरहेकोमा कानून विपरित भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा राष्ट्रसेवकलाई सहयोग गरी आफूहरुले फाईदा लिई नेपाल सरकारलाई हानी पुर्‍याएको पुष्टि भएको हुँदा निजहरु ज्याउल हक र एसानुल हक राकीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ वमोजिम गलत लिखत तयार गर्ने कसुरको मतियारको रुपमा कार्य गरेकोसमेतका आधारमा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम कसुर गर्ने व्यक्तिसरह नै सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
भोला दाहाल