२०८१ बैशाख १४ , शुक्रवार

रास्वपा के फेरी सरकारमा जान लागेको हो ? यस्तो छ संकेत !

सुनाखरी न्युज/ काठमाडौं।

 

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा पुनरागमनको संकेत देखाएको छ।

सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन यथावत राखेको रास्वपाले सरकारमा सहभागीताका लागि राखेको पूर्वसर्तमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक देखिएपछि रास्वपाले सरकारमा जाने आकांक्षा व्यक्त गरेको हो।

रास्वपाले पहिलकै मन्त्रालय पाएमा र सरकारको न्यूनतम कार्यक्रमबाट हटाइएको बुँदा समावेश गरिनुपर्ने सर्त राखेको छ। आइतबार प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका रास्वपाका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले सरकारमा सहभागिताका लागि यिनै शर्त राखेका थिए।

प्रधानमन्त्री रास्वपाको सर्तप्रति सकारात्मक देखिएपछि रास्पपाले सरकारमा सहभागी हुने संकेत देखाएको छ। यद्यपि शुक्रबार बस्ने संसदीय दलको बैठकले सरकारमा सहभागीताबारे निक्र्योल गर्ने रास्वपाले बताएको छ।

गत पुस ११ गते उप्रधानसहित तीन मन्त्रालय लिएर प्रचण्ड सरकारमा रास्वपा सामेल भएको थियो। सभापति लामिछानेको नेतृत्वमा सरकारमा सहभागी भएको रास्वपा माघ २२ गते औपचारिक रुपमा बाहिरिएको थियो।

सत्ता राजनीतिमा आएको बदलावले गठबन्धनका दलहरु परिवर्तन हुँदा समेत रास्वपाले अनिर्णयको बन्दी बन्दै सरकारको समर्थन यथावत नै राखेको थियो। तथापि माघ १३ गते सभापति लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्चको फैसलाले सबै पद गुमाउन बाध्य भएका उनले कतिपय कानूनी अड्चनबाट बच्न सर्मथन यथावत राखेको चर्चा चलेको थियो।

उपनिर्वाचनको मतपरिणामसम्म सरकारलाई दिएको समर्थनबारे मौन रहेको रास्वपाले गत वैशाख १० गते परिणाम आफ्नो पक्षमा आएसँगै सरकारलाई दिएको समर्थनबारे मुख खोलेको हो।

उपनिर्वाचनमा भारी मतले चितवन २ बाट विजयी भएपछि रास्वपाका सभापति लामिछानेले सरकारलाई समर्थन गरिरहनुपर्ने बाध्यकारी अवस्था नरहेको बताएका थिए। उनको सोही अभिव्यक्तिले सशंकित बनेका प्रधामन्त्री प्रचण्डले लामिछानेलाई फोन गरेरै चासो व्यक्त गरेका थिए।

तर, पछिल्लो समय प्रधानमन्त्रीसँगको भेटपछि लामिछाने सरकारमा सहभागी हुन लचक रहेको माओवादी स्रोत बताउँछ। उनले पूर्ववत् मन्त्रालय दिए सरकारमा सहभागी हुने आशय प्रकट गरेको स्रोतको दाबी छ।