२०८१ बैशाख १२ , बुधवार

रोबोटद्वारा गर्भाधान, जुम्ल्याहाको जन्म !

सुनाखरी न्युज/ काठमाडौं ।

बच्चा जन्माउन स्पेनमा  रोबोट्सको मद्दत लिइएको छ । रोबोट्सले गर्भाधान गर्न सहयोग गरेको जुम्ल्याहा छोरीको जन्म भइसकेको छ ।

उक्त प्रक्रिया बार्सिलोनामा पूरा भएको हो र शुक्रकीटलाई सुईमार्फत महिलाको अण्डासँग मिलान गराउन विद्यार्थी इन्जिनियर इड्वार्ड अल्बाको सहभागिता थियो ।

यो नयाँ प्रक्रिया स्टार्टअप कम्पनी ओभरचर लाइफले सुरु गरेको हो । महिलालाई अलि सस्तोमा प्रभावकारी ढङ्गले गर्भाधान गर्न सहयोग गराउने यसको उद्देश्य रहेको छ । इन–भिट्रो फर्टिलाइजेसनका लागि लाखौँ रकम खर्च हुने गर्छ ।

साधरणतया आइभीएफ प्रविधिमा विशेषज्ञ डाक्टरको निगरानीमा नै पुरुषको शुक्रकीट र महिलाको अण्डालाई मिलाएर भ्रूणलाई विकसित गर्ने गरिन्छ । तर यस पटक रोबोट्सले यस्तो गरेको छ ।

एमआइटी टेक्नोलोजी रिभ्युसँग कुरा गर्दै अल्बाले भने, ‘म त्यति बेला शान्त थिएँ । त्यति बेला मैले सोचिरहेको थिएँ ‘यो अर्को एउटा परीक्षण त हो ।’’

यद्यपि, विशेषज्ञ यसका लागि थप अनुसन्धानको आवश्यकता रहेको विश्वास गर्छन् ।

केही विज्ञ यसमा सहमत छैनन् । कोलम्बिया युनिभर्सिटी फर्टिलिटी क्लिनिकका निर्देशक जेभ विलियम्सले यो समयमा निषेचनका लागि मेसिनभन्दा मानिस नै पोख्त भएको बताएका छन् ।

 

ओभरचरले यसमा थप अनुसन्धानका लागि ३७ मिलियन डलर रकम सङ्कलन गरिसकेको छ ।
एजेन्सी