२०८१ बैशाख ६ , बिहिवार

हत्या अभियोगमा फरार रहेका सांसद कोइरी निलम्बित

सुनाखरी न्युज/ काठमाडौं ।

हत्या अभियोगमा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई सभामुख देवराज घिमिरले सांसद पदबाट निलम्बन गरेका छन् । प्रहरीले फरार रहेको पत्र पठाएपछि सभामुख घिमिरेले कोइरीलाई निलम्बन गरेका हुन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम उनलाई निलम्बन गरिएको सभामुख निकट स्रोतले जनाएको छ । प्रतिनिधिसभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार संघीय संसद् सचिवालयको सूचना पाटीमा निलम्बनसम्बन्धी सूचना टाँसिदैछ । ‘सभामुखले निलम्बनको टिप्पणीमा सदर गरिसक्नु भएको छ सूचना टाँस्न बाँकी छ,’ स्रोतले भन्यो ।

 

प्रहरीले दुई दिनअघि कोइरी अदालतको आदेशबमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा फरार रहेको पत्र संसद् सचिवालयमा पठाएको थियो । सात वर्षअघि महोत्तरीमा नेपाल प्रहरीका सई थमन विश्वकर्मा हत्या आरोपमा जनकपुर उच्च अदालतले कोइरीलाई पक्राउ गर्न आदेश दिएको थियो ।

प्रतिनिधिसभा नियमावलीमा पुर्पक्षका लागि थुनामा बस्नुपर्ने सांसद फरार रहे सदस्य स्वतः निलम्बन हुने व्यवस्था छ ।