२०८१ बैशाख १४ , शुक्रवार

प्रत्येक टिकटमा बढ्यो ५० देखि ११५ रुपैयाँसम्म ओपिडी शुल्क

सुनाखरी न्युज/ काठमाडौं ।बिरामीले चिकित्सकलाई तिर्नुपर्ने ओपिडी शुल्क प्रत्येक टिकटमा ५० देखि एक सय १५ रुपैयाँसम्म बढेको छ। आगामी जेठ १ गतेदेखि लागू हुने गरी ओपिडी शुल्क बढाइएको हो।

 

नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले स्वास्थ्य मन्त्रालयको सहमतिमा ओपिडी जाँचमा लिइँदै आएको परामर्श शुल्क बढाएको जनाएको छ। विज्ञप्ति जारी गर्दै दुई–दुई वर्षमा परामर्श शुल्क पुनरावलोकन गर्न मिल्ने व्यवस्थाअनुरूप शुल्क बढाइएको बताइएको हो। राष्ट्र बैंकको मुद्रास्फीति दरलाई ध्यानमा राखेर बढाइएको भनिएको शुल्कमा चिकित्सकको शुल्क अनुभवका आधारमा लिइनेछ। शुल्क बढेसँगै, पाँच वर्षभन्दा कम चिकित्सा अनुभव भएका एमबिबिएस, बिडिएसको चिकित्सक चार सय २० रुपैयाँ र पाँच वर्ष बढी अनुभव भएका एमबिबिएस तथा बिडिएस डाक्टरले पाँच सय १५ रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरिएको हो।

 

यसअघि ०७७ फागुन ४ गते कायम गरिएको परामर्श शुल्क पाँच वर्षभन्दा कम अनुभव भएका चिकित्सकको शुल्क तीन सय ७० रुपैयाँ र पाँच वर्भन्दामाथि अनुभव भएकाको शुल्क चार सय ५० रुपैयाँ तोकिएका थियो। यस्तै, डिप्लोमा लेभलका चिकित्सकको हकमा पाँच वर्षमुनिको अनुभव भएका चिकित्सकले पाँच सय ९० रुपैयाँ र बढी अनुभव भएका चिकित्सकले ६ सय ७० रुपैयाँ लिन पाउने भएका छन्। यसअघि कायम गरिएको शुल्कको आधारमा यो कम अनुभव भएकाभन्दा ७० र बढी अनुभव भएकाको हकमा ८० रुपयाँले बढी हो। एमडिएमएस एमडिएस तहका चिकित्सकको हकमा पनि पाँच वर्षभन्दा कम र बढी अनुभव भएकामा क्रमशः ९० र १०० रुपँयाले बढेको हो। शुल्क बढेसँगै पाँच वर्षभन्दा कम अनुभव भएकाले ओपिडी शुल्क सात सय ५० रुपैयाँ र सोभन्दा माथि अनुभव भएकाले आठ सय रुपैयाँसम्म शुल्क लिन पाउने भएका छन्।