२०८१ बैशाख ७ , शुक्रवार

प्यूठानमा खानेपानी अभाव

सुनाखरी न्युज/ काठमाडौं । प्यूठानको ऐरावती गाउँपालिका–६ बिजुली सेतीथुमकी सीता खनाल एक गाग्री पानी लिन दुई घण्टा हिँड्नुपर्दछ । आधा रातमा पानी लिन पुग्दा पनि पालो कुर्नुपर्नेहुन्छ पशुचौपायलाई पानी खुवाउन सहजताका लागि घैटो बनाए पनि सधैँ नपुग्ने भएपछि सधैं हैरानी व्यहोर्नु परेको छ । ऐरावती गाउँपालिका –६ बिजुली बरम पोखराकी हेमन्ता थापामगर पूर्ववडा सदस्य हुन् । आफ्नो कार्यकालमा जति सहजीकरण गर्न खोजे पनि पानी लिन नसकेकोमा उनी दुःखी छिन् ।

 

“आधा उमेरसम्म खानेपानीको हाहाकारमा जिउनु परेको छ, सबेरै उठेर पँधेरो पुग्ने र घण्टौँ लाइन लागेर पानीको जोहो गर्नुपर्ने दैनिकि छ,” उहाँले भनिन् । प्यूठानका पहाडी भेगका केही स्थानीय बस्ती गर्मीयाम सुरु भएदेखि पिउने पानीको समस्या देखिन्छ । ऐरावती गाउँपालिकाको बिजुलीका अधिकांश बस्ती वर्षौँदेखि काकाकुल बन्नु परेको छ । घण्टौँ लगाएर पानीको जोहोमा जुट्नुपर्दा दैनिकीमा समेत असहजता भएको छ । बिहानै पँधोरो पुग्ने, घण्टौँ पालो कुर्ने र खोल्साको पानी भर्ने काममा गाउँका महिला वर्षौदेखि समस्यामा छन् तर अहिले पनि गाउँमा पानीको समस्या टरेको छैन । ऐरावती गाउँपालिका–६ भित्रका बरमपोखरा, सेतीथुम, च्युरापानी, मणाईलगायत आधादर्जन बढी गाउँमा खानेपानीका लागि यस्तै समस्या छ । यहाँका डेढसय बढी परिवारले वर्षौदेखि खोल्सीको पानीले धौधौ प्यास मेटेका छन् ।

 

बोकेको पानीले पशु चौपायालाई नपुग्ने भएपछि स्थानीयवासीले वर्षामा पानी जम्मा पार्न घरैपिच्छे घैटा बनाएका छन् । वर्षायाम बाहेक अन्य समयमा ती घैँटाको पानी सकिने गरेको छ । एकातिर महिला परिवार चलाउन घण्टौँ टाढाको बाटो धाएर पानी बोक्न बाध्य भएको स्थानीय जीवकला थापामगरको गुनासो छ । उनका अनुसार पानीकै समस्याले खेतबारी बाँझै छाडेर बसाइँ सर्ने पनि बढेका छन् । ऐरावतीको वडा नं ६ मा बितेको २१ महिनामा ४७ परिवार बसाइँसरेको तथ्याङ्क छ । गाउँमा पानीको समस्या देखाउँदै अधिकांश थातथलो छाडेने गरेका हुन् । नेपालमा सामान्यतयाः प्रतिदिन प्रतिव्यक्ति ४५ लिटर पानी उपलब्ध भएमा आधारभूतस्तरको सुविधा मानिन्छ । त्यसमा पानी लिएर आउने समय ३० मिनेटभन्दा कम हुनुपर्छ । तर पछिल्लो समय पहाडी जिल्लामा जथाभावी सडक निर्माण गर्दा पानीका मुहान पुरिने, सुक्ने जस्ता समस्या देखिने गरेका छन् ।

 

ऐरावतीको खानेपानीको समस्या हल गर्नका लागि ल्याइएको झिमरुक खोला बिजुली लिफ्ट आयोजना चार वर्षदेखि अलपत्र छ । खानेपानी लाइनको विषयमा विवाद हुँदा समयमा काम गर्न नसकिएको ऐरावती गाउँपालिकाले बताएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरालाल भण्डारीले विवाद समाधान गरी खानेपानी योजना निर्माण सम्पन्न गर्न लाग्ने बताए । “केही विवादका कारण योजना अलपत्र जस्तै भएको हो, मेरो पहिलो प्राथमिकता खानेपानी पु¥याउन समन्वय गर्नेमा छ,” भण्डारीले भने । खानेपानी जस्तो संवेदनशील विषयमा सबै दल एक ठाउँ उभिई समाधान खोज्नुपर्ने उनको भनाइ छ । रासस