२०८० चैत्र १६ , शुक्रवार

मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

काठमाडौं :  उपत्यकाको विभिन्न स्थानमा मोटरसाइकल चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- ३ का २५ वर्षीय विजय भन्ने लोकबहादुर पाख्रिन र काभ्रे तिमाल गाउँपालिका- ७ धुल्खुका २८ वर्षीय हेमा भन्ने सुजन तामाङ रहेका छन्।

 

पाख्रिन हाल ललितपुरको भैंसेपाटी र तामाङ बौद्धस्थित नयाँ पाटीमा बस्दै आएका छन्। मोटरसाइकल चोरी भएको उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरेको काठमाडौं अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत, प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

 

सूचना अधिकृत प्रहरी उपरीक्षक रेग्मीका अनुसार पाख्रिनलाई प्रदेश ०२-०२८ प ४४४८ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरी सोधपुछ गर्ने क्रममा मोक्तानलाई पनि पक्राउ गरिएको हो। दुवैजनालाई मोटरसाइकलसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त चापागाउँ पठाइएको प्रहरीले जनाएको छ।