२०८१ बैशाख ७ , शुक्रवार

स्पेनमा रोबोटद्वारा गर्भाधान गराइएका जुम्ल्याहा छोरीको जन्म

सुनाखरी न्युज / स्पेन – स्पेनमा बच्चा जन्माउन रोबोट्सको मद्दत लिइएको छ । रोबोट्सले गर्भाधान गर्न सहयोग गरेको जुम्ल्याहा छोरीको जन्म भइसकेको छ । उक्त प्रक्रिया बार्सिलोनामा पूरा भएको हो र शुक्रकीटलाई सुईमार्फत महिलाको अण्डासँग मिलान गराउन विद्यार्थी इन्जिनियर इड्वार्ड अल्बाको सहभागिता थियो ।

 

यो नयाँ प्रक्रिया स्टार्टअप कम्पनी ओभरचर लाइफले सुरु गरेको हो । महिलालाई अलि सस्तोमा प्रभावकारी ढङ्गले गर्भाधान गर्न सहयोग गराउने यसको उद्देश्य रहेको छ । इन–भिट्रो फर्टिलाइजेसनका लागि लाखौँ रकम खर्च हुने गर्छ । साधरणतया आइभीएफ प्रविधिमा विशेषज्ञ डाक्टरको निगरानीमा नै पुरुषको शुक्रकीट र महिलाको अण्डालाई मिलाएर भ्रूणलाई विकसित गर्ने गरिन्छ । तर यस पटक रोबोट्सले यस्तो गरेको छ ।

एमआइटी टेक्नोलोजी रिभ्युसँग कुरा गर्दै अल्बाले भने, ‘म त्यति बेला शान्त थिएँ । त्यति बेला मैले सोचिरहेको थिएँ ‘यो अर्को एउटा परीक्षण त हो ।’’‘यो ठुलो उपलब्धि हो । ओभरचरले अब रोबोटद्वारा पहिलो पटक गर्भाधान गरिएको दुई स्वस्थ छोरीलाई जन्म दिएको भनेर दाबी गर्न सक्छ ।’ यद्यपि, विशेषज्ञ यसका लागि थप अनुसन्धानको आवश्यकता रहेको विश्वास गर्छन ।