२०८१ बैशाख ७ , शुक्रवार

पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्म ‘हुक्का’को ट्रेलर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । आगामी जेठ १२ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हुक्का : एन अब्जर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ । शम्भु थापा निर्देशित यो फिल्मले मर्मस्पर्शी पारिवारिक कथावस्तु पेश गरेको छ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो ।

 

ट्रेलरमा शीर्ष कलाकारहरु प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङलगायत चित्रित छन् । ट्रेलरमा प्रकाशले अभिनय गरेको पात्रको हुक्का प्रेम देखाइएको छ । पूर्खाको धाक लगाएर बसेको सन्तोषकुमारको पात्रले पोखरा गएर पैसा उठाउने कुरा सुनाउँदा प्रमिला पात्रले गहना बेच्न दिएको दृश्य मर्मस्पर्शी छ ।प्रमिलाका दाजुसँग प्रमिलाको अंशका विषयमा भएको झगडाका साथै श्रीमानले शंका गरेर घरभित्र छिर्न नदिएर श्रीमतीलाई लिन खोजिएको अग्निपरीक्षा लगायतका दृश्यले पनि फिल्मले पारिवारिक विषयलाई उठान गरेको बुझ्न सकिन्छ ।

 

शम्भु थापा र अशु न्यौपानेको पात्रबीचको पाँच वर्षसम्म सन्तान नहुँदा भोग्ने पीडालाई प्रस्तुत गरिएको छ । फिल्मकी अर्की कलाकार एलिशा विकका पतिले आफूलाई पाँच लाख ल्याएर नदिएसम्म घर नफर्किन दिएको धम्कीले महिलाको घरेलु पीडा दर्शाएको छ । फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा र सम्वाद विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्ण बहादुर थापाको छायांकन छ ।