२०८१ बैशाख १४ , शुक्रवार

लोक सेवाको विज्ञापन पुनः खुलाउने तयारी

सुनाखरी न्युज / काठमाडौं  – डेटा गायब भएपछि लोक सेवा आयोगको अनलाइन प्रणाली अवरुद्ध भएको छ । जीआईडीसीको स्टोरेज प्रणालीमा समस्या आउँदा आयोगको विभिन्न डेटा गायब भएको हो । जीआईडीसीको प्रणालीमा समस्या आउँदा गत वर्ष मंसिर महिनामा प्रकाशित रा।प।तृतीय श्रेणी  अप्राविधिक शाखा अधिकृत वा सो सरह पदको विज्ञापन, पुस महिनामा प्रकाशित रा।प। अनं। प्रथम श्रेणी अप्राविधिक नायब सुब्बा वा सो सरह पदको विज्ञापन र माघ महिनामा प्रकाशित रा।प। अनं प्रथम श्रेणी  प्राविधिक नायब सुब्बा वा सो सरह र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेस भएका दरखास्त सम्बन्धी विवरणमा आयोगको पहुँच बाहिर गएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले उक्त विज्ञापन पुनः खुलाउने तयारी गरेको छ । आयोगले सञ्चालन गर्दै आएको उक्त अनलाइन प्रणालीमा गत फागुन २३ गते समस्या आएको घटना एक साताअघि मात्र बाहिरिएको थियो । फागुन २३ गतेको उक्त घटनापछि जीआईडीसी सञ्चालन गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले डेटा रिकभरीको प्रयास जारी राखेको आयोगको भनाइ छ ।

आयोगले अहिले जीआईडीसीकै अर्को पूर्वाधारमा होस्ट गरी अनलाइन दरखास्त प्रणाली सञ्चालन गरिरहेको जानकारी दिएको छ । डेटा रिकभरीको प्रयास जारी रहेको भए तापनि राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट कहिले सम्ममा के कति डेटा रिकभर हुन्छ भन्ने यकिन नभएको जानकारी आयोगलाई प्राप्त हुन आएको छ, विज्ञप्तिमा लेखिएको छ, यस विषयलाई गम्भीरतापूर्वक लिई पूर्वप्रकाशित उक्त विज्ञापनका परीक्षाहरू सञ्चालन गर्न आयोग वैकल्पिक योजनामा काम गरिरहेको छ ।

 

पूर्वप्रकाशित विज्ञापनमा दरखास्त दस्तुर तिरेको विवरण आयोगसँग सुरक्षित रहेको आयोगको दाबी छ । त्यसैका आधारमा दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारहरूलाई मात्र उचित समय प्रदान गरी थप दस्तुर तिर्न नपर्ने गरी पुनः दरखास्त दिन आह्वान गर्ने र परीक्षा कार्यक्रम परिमार्जन गरी यथाशीघ्र नयाँ परीक्षा कार्यक्रम प्रकाशन गर्ने प्रक्रियामा आयोग रहेको छ ।