२०८० चैत्र १६ , शुक्रवार

तीन वर्षपछि ‘आँप’ जोडी एकसाथ

सुनाखरी न्युज/ काठमाडौं । तीन वर्षपछि ‘आँप’जोडी एकसाथ देखिएको छ । आँचल शर्माको निम्तोमा पल शाह ‘नाइँ नभन्नु ल ६’ हेर्न डेढ वर्षपछि हलमा पुगे । उनीहरुले आइतबार राति क्यूएफएक्सको लबिम हलमा सँगै फिल्म हेरे । फिल्म स्क्रिनिङपछि मिडियासामु कुरा गर्दा यी दुई केही भावुक सुनिएका थिए ।

 

कुराकानीमा एकअर्काप्रति पल र आँचलको लगाव प्रष्टै देखिन्थ्यो । आँचलले उद्योगकै ‘वान एण्ड वन्ली’ साथी भन्दै पलप्रति अनुराग दर्शाइन् । मिडियाकर्मीले आँपजस्तै देखिने रङको पहिरन लगाएको भन्दै उनीहरुलाई कटाक्ष गर्दा आँचलले यो आँपको मौसम भएकाले ‘आँप’ जोडी पनि सिजनमै आउने गरेको बताइन् ।‘नाइँ नभन्नु ल ६’ हेर्दा आँचलको अभिनयले मन जितेको र उनको अभिनय कलामा सुधार आएको पलले बताए । ‘उहाँको काम बेस्ट लाग्यो । फिल्मको राम्रो पक्ष नै उहाँको एक्टिङ लाग्यो । एक्टिङ स्किल इम्प्रुभ भएको रहेछ,’ पलले भने । यो फिल्म भन्ने बित्तिकै आफ्नो भावना जोडिएको पलले सुनाए ।

 

आँचल र आफूलाई लिएर फिल्मको अफर आइरहेको भन्दै पलले निकट भविष्यमा सहकार्य हुनसक्ने पनि बताए । ‘पल र आँचलले फिल्म गर्नुपर्छ भनेर अफर आइरहेको छ । यसका लागि पटकथा बलियो हुनुपर्छ । एक दिन हुन्छ होला सायद,’ पलले भने ।