२०८१ बैशाख १३ , बिहिवार

रास्वपालाई गृहसहित पुरानै मन्त्रालय दिन प्रधानमन्त्री तयार

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुन राखेका माग सम्बोधन गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल तयार रहेको बताइएको छ । पार्टीको केन्द्रीय समितिको शुक्रबारको बैठकपछि रास्वपाका महामन्त्री तथा प्रवक्ता डा।.मुकुल ढकालले सभापति रवि लामिछानेले राखेका माग सम्बोधन गर्न प्रधानमन्त्री दाहाल तयार रहेको बताएको जानकारी दिए ।

 

सरकारमा सहभागी हुने कि प्रतिपक्षमा जाने भन्ने विषयमा रास्वपाले आगामी शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय लिने ढकालले जानकारी दिए । सोमबार नै प्रधानमन्त्री दाहालले रास्वपाले ुसमर्थन फिर्ता नलिने बरु सरकारमा सहभागी हुनेबारे छलफलु भइरहेको बताएका थिए ।

‘रास्वपा साबिकका मन्त्रालय नपाएको हकमा सरकारमा जाँदैन, नीति तथा कार्यक्रम पुनर्लेखन नभएको अवस्थामा पनि सरकारमा जाँदैन,’ ढकालले सोमबारको केन्द्रीय समिति बैठकपछि भने, ‘प्रधानमन्त्रीले हाम्रो पार्टी सभापतिलाई पुरानो मन्त्रालय दिनका लागि र नीति तथा कार्यक्रम पुनर्लेखनका लागि मञ्जुर छु भन्ने कुरा गरिसकेको हुनाले अहिले पार्टीले जाने या नजाने निर्णय गर्न मात्रै बाँकी हो ।’

 

रास्वपाले साबिकका मन्त्रालय पाउनुपर्ने र नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग अघि सारेको छ । गत पुस १० मा भएको एमालेसहितको गठबन्धनमा रास्वपाले उपप्रधानमन्त्रीसहित तथा गृह मन्त्रालय, श्रम र शिक्षा मन्त्रालय पाएको थियो । स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री पाएको थियो । उपप्रधान तथा गृहमन्त्री बनेर सभापति रवि लामिछाने मन्त्रिपरिषद्मा सहभागी भएका थिए । नागरिकतालाई लिएर सांसदको अयोग्यतासम्बन्धी मुद्दामा सर्वोच्चले गत माघ १३ मा फैसला गरेपछि लामिछाने गृहमन्त्रीबाट बाहिरिएका थिए । रास्वपाका अन्य सांसदले माघ २२ मा राजीनामा बुझाएर मन्त्रिपरिषद्‍बाट बाहिरिएका थिए ।

चितवन-२ मा भएको उपनिर्वाचनबाट सांसद बनेपछि लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका थिए । आइतबार भएको भेटमा प्रधानमन्त्रीलाई लामिछानेसँग सरकारमा सहभागीबारे छलफल गरेका थिए । सो विषयमा पार्टी केन्द्रीय समिति बैठकमा पनि छलफल भएको प्रवक्ता ढकालले बताए । रास्वपाले गृह, श्रम र शिक्षा मन्त्रालय मागेको छ भने नीति तथा कार्यक्रम पनि पुनर्लेखन हुनुपर्ने माग राखेको छ । यी दुई माग पूरा नभए सरकारमा सहभागी नहुने ढकालले बताए ।

प्रधानमन्त्री दाहालले गृह मन्त्रालय रास्वपालाई दिने भनिसकेको ढकालले बताए । हाल गृह मन्त्रालय माओवादी केन्द्रको भागमा छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ छन् ।