२०८१ जेठ ७ , सोमवार

नयाँ स्टक एक्सचेन्ज छान्न बोर्डले बनायो समिति

सुनाखरी न्युज/ काठमाडौं । आवेदन दिएका मध्ये नयाँ स्टक एक्सचेन्ज कम्पनी छान्न नेपाल धितोपत्र बोर्डले मूल्यांकन समिति गठन गरेको छ। बोर्डको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले पाँच सदस्यीय मूल्यांकन समिति गठन गरेको हो।

 

मूल्यांकन समितिको संयोजकमा बोर्डको सञ्चालक समितिमा रहेका कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतम छन्। समितिका सदस्यहरुमा अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका गिरी छन्। बोर्डमा स्टक एक्सचेन्जका लागि ३ वटा कम्पनीको आवेदन परेको छ भने कमोडिटी एक्सचेन्जको लागि ४ वटाको आवेदन परेको छ। निवेदन दिएका मध्ये एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिडि एक्सचेन्जले अनुमति पाउनेछन्।

 

धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ। त्यस्तै, बस्तु बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालनको लागि मल्टि डेरिभेटिभ्स एक्सचेन्ज, मल्टि एसेस्ट्स एण्ड डेरिभेटिभ उक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ्स एक्सचेन्ज र नेपाल मल्टि कमोडिटि एक्सचेन्जको आवेदन परेको छ। समितिले एक महिनाभित्रै अनुमति प्राप्त गर्ने कम्पनीको टुंगो लगाउनेछ। कम्पनीको व्यवसायीक कार्य योजना, सञ्चालकको योग्यता, प्रस्तावित प्रविधिको गुणस्तर र चुक्तापुँजीको आधारमा समितिले आवेदकहरूको मूल्यांकन गर्नेछ।